देउखुरी, दाङ— लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समावेशी र दीगो विकासको स्पष्ट रूपरेखा प्रस्तुत गर्ने दस्तावेजका रूपमा आएको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, वन, सामाजिक न्याय, सहरीकरण, जल स्रोत र वित्तीय अनुशासनसहितका १६ शीर्ष प्राथमिकतामा नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध देखिएको छ।
कृषि र युवाशक्ति
“कृषिमा उत्पादकत्व वृद्धि: लुम्बिनी प्रदेशको नारा” अन्तर्गत यान्त्रिकीकरण, व्यवसायीकरण, बजारीकरण र जैविक उत्पादनमा जोड दिइएको छ। विदेशबाट फर्किएका युवाहरूको पूँजी र सीपलाई आधुनिक कृषिमा लगानी गराउँदै युवा लक्षित अनुदान, लोपोन्मुख बाली संरक्षण र घरदैलो प्राविधिक सेवाजस्ता कार्यक्रम अघि सारिएका छन्।
स्वदेशी उत्पादन र सीप आधारित उद्यम
“स्वदेशी उत्पादनको उपयोग: समृद्ध प्रदेशमा सहयोग” भन्ने नारासहित स्थानीय उद्योगलाई कच्चा पदार्थ, सुलभ कर्जा र आत्मनिर्भर बीउबिजन अभियानमा सहयोग गरिनेछ। दुर्गम जिल्लामा सुपथ मूल्य पसल, सीप तालिम र प्रवासी युवाको सीप मापन गरी रोजगारी सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
पूर्वाधार र यातायात
प्रादेशिक यातायात गुरुयोजना, झुलुंगे पुल, सडक मर्मत, र सूचना बोर्ड स्थापना गरिनेछ। “मोबाइल हातमा: यातायात सेवा साथमा” नीति अन्तर्गत सवारी राजस्व प्रणाली पूर्ण रूपमा अनलाइन बनाइनेछ।
सिचाइ, ऊर्जा र सहरी विकास
सिचाइ गुरुयोजना, जलवायुअनुकूल बहुउद्देश्यीय योजना, कृत्रिम ताल संरक्षण र “एक घर, एक धारा” कार्यक्रममार्फत विद्युत् र खानेपानीको पहुँच विस्तार गरिनेछ। बस्ती संरक्षण र सहरी सौन्दर्यका लागि वृक्षारोपण पनि गरिनेछ।
शिक्षा र सीप विकास
“मेरो विद्यालय: मेरो दायित्व”, “पढ्दै, सिक्दै, कमाउँदै”, र “शिक्षासँगै सीप पनि” कार्यक्रममार्फत शिक्षामा गुणस्तर र नवप्रवर्तन ल्याइनेछ। लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट केन्द्र बनाउने लक्ष्यसहित विदेशी विद्यार्थीलाई छात्रवृत्ति, इन्टर्नसिप र नवप्रवर्तन इकाइ विकास गरिनेछ।
स्वास्थ्य र प्रविधिमैत्री सेवा
“मानसिक स्वास्थ्यमा सुधार: स्वस्थ नागरिक, लुम्बिनीको आधार” नारासहित मनोसामाजिक परामर्श, योग-ध्यान र विद्यालय नर्स कार्यक्रम विस्तार गरिनेछ। राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गरी शल्यक्रिया सेवा, मुटु, मृगौला, क्यान्सर सेवा र आँखाको नानी प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
सामाजिक समावेशिता र महिला सशक्तीकरण
“लुम्बिनीका महिला उद्यमशीलतामा पहिला” नारासहित महिला विकास परिषद्, बालमैत्री अभियान, ज्येष्ठ नागरिक सशक्तीकरण, सडक बालबालिका उद्धार र पीडित महिलाका लागि सेफ हाउस सञ्चालन गरिनेछ। युवाका लागि फेलोशिप, क्लब र स्काउट कार्यक्रम सञ्चालन गरिनेछ।
वन, पर्यावरण र पर्यटन
लुम्बिनी विकास प्राधिकरण, लुम्बिनी प्रज्ञा प्रतिष्ठान, धार्मिक तथा साहसिक पर्यटन, सतिसाल–विजयसाल संरक्षण र “हरियाली सडक पूर्वाधार” योजना लागू गरिनेछ।
सार्वजनिक खर्च र वित्तीय अनुशासन
चालु खर्चमा नियन्त्रण, पुँजीगत खर्चमा वृद्धि, राजस्व सुधार, स्रोत सुनिश्चित आयोजना र दोहोरोपन अन्त्य गर्न समन्वयात्मक रणनीति अघि सारिएको छ।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्