काठमाडौँ। नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा शनिबार काठमाडौँमा आयोजना गरिएको ‘युए ह्याकाथन नेपाल २०२५ः पायाेनिरिङ युए रेडी प्ल्याटफर्मस्’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको हो ।
कार्यक्रममा सार्वजनिक गरिएको ‘क्यान.संगठन’ वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘युए रेडी’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् ।
उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७०% नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए ।
कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले .एनपी डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्री/रजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्