काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सहकारी ऐन, २०७४ को दफा १०३ (ङ) बमोजिम गठन गरिएको सिफारिस समितिले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो।
सहकारी ऐन तथा २०८२ मा तयार पारिएको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड’ अनुसार अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारको विशिष्ट श्रेणी वा सो सरहको पदमा काम गरेको वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय तथा सहकारी संस्थामा कम्तीमा १५ वर्षको अनुभव प्राप्त गरेको व्यक्ति योग्य ठहरिनेछ।
विज्ञ सदस्यका लागि भने सोही विषयमा स्नातकोत्तर उपाधिसहित कम्तीमा १० वर्ष कार्य अनुभव आवश्यक छ। साथै, दुवै पदका उम्मेदवारले दरखास्त दिनुपर्ने दिनसम्म ६० वर्ष उमेर ननाघेको हुनुपर्नेछ।
दरखास्तमा मापदण्ड अनुसारको आवेदन विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, संस्थागत अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण, उमेर प्रमाण, हालसालै खिचिएको फोटो, स्वःघोषणा पत्र, दस्तुर बुझाएको रसीद लगायतका कागजातहरू संलग्न गर्नुपर्नेछ।
त्यसैगरी उम्मेदवारले आफूले प्रस्ताव गरेको व्यावसायिक तथा आर्थिक कार्ययोजना, रणनीति, चुनौती र अवसरसमेत समावेश गरिएको ३ हजारदेखि ५ हजार शब्दको योजनापत्र तीन प्रति पेश गर्नुपर्नेछ। सो योजनाको एक प्रतिमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ भने बाँकी दुई प्रतिमा कुनै चिनारी नराखिएको हुनुपर्ने शर्त राखिएको छ।
दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८२ जेठ २५ गते कार्यालय समयभित्र तोकिएको छ। सो दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिवसमा कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्