गभर्नर पौडेलले गरे डा. गुणाकर भट्टलाई महत्त्वपूर्ण जिम्मेवारीमा फिर्ता


काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो नियुक्ति भएको चार दिनमै बैंकका मुख्य विभागहरूमा हेरफेर गर्दै डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा फर्काएका छन्।

गभर्नर बन्नका लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टको राजीनामा तत्कालीन कामु गभर्नर डेपुटी गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरी विचाराधीन अवस्थामा राखेकी थिइन्।

गभर्नर पौडेलले सुरुदेखि नै डा. भट्टलाई काममा फर्काउने पक्षमा रहेको बताउँदै आएका थिए।

लामो समय आर्थिक अनुसन्धान महाशाखाका प्रमुख रहेका डा. भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नर पौडेलले उनलाई आफूसँगै गभर्नरको कार्यालयमा राख्ने निर्णय गरेका हुन्।

गभर्नर कार्यालयमा रहने कार्यकारी निर्देशकलाई गभर्नरको मुख्य सल्लाहकार मानिन्छ, जसले गभर्नरलाई राष्ट्र बैंकका नीतिगत निर्णयहरू लिन सहयोग गर्छन्।

यससँगै गभर्नरले डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाएका छन् भने उनी कार्यरत मानव संसाधन विभागमा बैंकिङ कार्यालयका विश्रुत थापालाई लगिएको छ ।
यसैबीच, गभर्नरको कार्यालयमा रहेका डा.प्रकाशकुमार श्रेष्ठले उमेर हदका कारण शनिबारबाट अवकाश पाएका छन्।

उनले आफ्नो अवकाशको जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्। डा. श्रेष्ठले नेपाल राष्ट्र बैंकमा करिब साढे २७ वर्ष बिताएर स्थायी जागिरबाट अनिवार्य अवकाश लिएको बताएका छन्।

आफ्नो पीएचडी शोध “साना अर्थतन्त्रमा मौद्रिक नीति, बैंकिङ प्रणाली र विदेशी विनिमय सञ्चिति” रहेको र आर्थिक अनुसन्धान विभाग लगायत अन्य विभाग तथा कार्यालयमा निष्ठापूर्वक योगदान दिएको उनको भनाइ छ।
डा. श्रेष्ठले गभर्नर पदका लागि समयमा नै राजीनामा दर्ता गराएको स्पष्ट पारेका छन्, तर आवश्यक नपर्ने बुझिएपछि राजीनामा निष्क्रिय भएको बताएका छन्।
उनले केही मिडियाले कामु गभर्नरले उनको राजीनामा स्वीकृत नगरेको भन्ने कुरा सत्य नभएको जनाएका छन्।