काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरू भएको छ।
बैठकमा पार्टीका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक अवस्थाहरू, तथा आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने जनाइएको छ। त्यससँगै हाल विवादमा रहेका गृहमन्त्री रमेश लेखकको विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको दुरुपयोग गरी दैनिक घुस लिएको आरोप मन्त्री लेखकमाथि लागेको छ। यो घटनापछि काँग्रेसभित्रैबाट नै उनलाई नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने माग उठिरहेको छ। केही नेताहरूले मन्त्री लेखकले पदत्याग गरेर छानबिनमा सहयोग गर्नु उचित हुने टिप्पणी गरेका छन्।
बैठकमा गृहमन्त्री लेखकको विषयमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ। उता, गृहमन्त्री लेखकले भने आफूमाथि लागेको आरोप प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्। साथै, जेठ १३ गते बस्ने प्रतिनिधि सभा बैठकमा उक्त घटनाक्रमबारे आफ्नो धारणा राख्ने जानकारी पनि उनले दिएका छन्।
प्रतिक्रिया दिनुहोस्