प्रदेशहरूमा आयगत विभेद फराकिलो: बागमतीवासीको आय २६०० डलर हुँदा मधेशको ९३२ डलरमात्र


काठमाडौँ । नेपालका सात प्रदेशहरूमध्ये बागमती प्रदेश प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (पर क्यापिटा जीडीपी) मा लगातार अग्रस्थानमा रहेको छ भने मधेश प्रदेश सबैभन्दा पछाडि परेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रदेशगत राष्ट्रिय लेखा तथ्याङ्कअनुसार बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६०१ अमेरिकी डलर पुगेको छ, जुन देशकै सबैभन्दा उच्च हो भने कुल राष्ट्रिय औसत १ हजार ४९६ अमेरिकी डलरभन्दा पनि निकै बढी हो ।

गत वर्षका तुलनामा बागमती प्रदेशको प्रतिव्यक्ति आय ४.३७ प्रतिशतले बढेको हो । गत वर्ष बागमतीको प्रतिव्यक्ति आय २ हजार ४९२ अमेरिकी डलर थियो ।

बागमती प्रदेशमै सम्पूर्ण आर्थिक गतिविधि केन्द्रीत रहेका कारण देशभरिकै कुल अर्थतन्त्रमा यो प्रदेशको एकल हिस्सा ३६.५२ प्रतिशत ओगट्छ ।
नेपाली रुपैयाँमा बागमती प्रदेशको प्रतिव्यक्ति आय ३ लाख ५३ हजार ८९४ रुपैयाँ रहेको छ जुन राष्ट्रिय ‍औसत २ लाख ३ हजार ५२० रुपैयाँभन्दा बढी हो।

दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १ हजार ६२० अमेरिकी डलर पुगेको छ। यो गत वर्षभन्दा ३.१८ प्रतिशत बढी हो । गत वर्ष गण्डकीको प्रतिव्यक्ति आय १ हजार ५७० अमेरिकी डलर थियो । गण्डकी प्रदेशले देशको अर्थतन्त्रमा ८.९८ प्रतिशत हिस्सा ओगट्छ ।

प्रदेशगत प्रतिव्यक्ति आयका हिसाबले तेस्रो स्थानमा रहेको कोशी प्रदेशको पनि गत वर्षभन्दा भन्दा ३.६ प्रतिशतले बढेर १ हजार ४०१ अमेरिकी डलर पुगेको छ । गत वर्ष कोशी प्रदेशमा प्रतिव्यक्ति आय १ हजार ३५२ अमेरिकी डलर थियो ।
कोशी प्रदेशले देशभरिको कुल गार्हस्थ्य उत्पादनमा १५.९० प्रतिशत हिस्सा ओगट्छ ।

यसैगरि चौथो स्थानमा रहेको लुम्बिनीले प्रदेशमा आव २०८०/८१ मा १ हजार १६७ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २.९ प्रतिशतले वृद्धि भइ १ हजार २०१ डलर पुगेको छ । लुम्बनीको देशभरिको कुल गार्हस्थ्य उत्पादनमा १४.२३ प्रतिशत हिस्सा छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय आव २०८०/८१ मा १हजार १२२ अमेरिकी डलर रहेकोमा २०८१/८२ मा १ हजार १५३ डलर पुगेको छ भने कर्णाली प्रदेशको प्रतिव्यक्ति आय आव २०८०/८१ मा १ हजार ७६अमेरिकी डलर रहेकोमा २०८१/८२ मा १ हजार ८९ डलर पुगेको छ ।

देशभरिको कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत हिस्सा ओगट्छन् ।

सबैभन्दा तल रहेको मधेश प्रदेशको प्रतिव्यक्ति आय आव २०८०/८१ को ९०३ डलर रहेकामा आव २०८१/८२ मा ९३२ डलरमात्र पुगेको छ । यद्यपि यस प्रदेशले देशभरिको कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत हिस्सा ओगट्छ।