कात्तिक ३ गतेदेखि १५ औं गोदावरी फूल मेला


काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सिताराम पन्तले बताए ।

फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको एसाेसिएशनले जनाएकाे छ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाइएको छ। प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने पन्तले जानकारी दिए ।

गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएकाे छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ ।

नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसाेसिएशनका अध्यक्ष मिन बहादुर तामाङले बताए ।

यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।