परम्परागत प्रचलित वस्तुको आधुनिक रूपान्तरण


दिवाकर पन्त

वैदिक सनातन संस्कृतिका मुख्य भौगोलिक विरासत भएको भारत वर्षअन्तर्गत नेपाल र भारतलगायत हुन् । यो संस्कृति विगतमा भारत वर्षका अन्य देश पाकिस्तान, बंगलादेश, श्रीलंका, बर्मा, कम्बोडिया, थाइल्याण्ड, इन्डोनेसिया, तिब्बत, फिलिपिन्सलगायतका देशसम्म वैदिक सनातन संस्कृत र ओमकार परिवारको संस्कृति विस्तार भएको थियो । 

यी देशहरूमा अहिले पनि वैदिक सनातन संस्कृति र ओमकार परिवारको संस्कृतिको समिश्रित रूप विद्यमान छ । तैपनि मुख्य रूपमा सनातन संस्कृतिको अवलम्बन नेपाल र भारतमा बढी पाइन्छ । तर विडम्बना यी दुवै देशमा किसानको अवस्था दिनप्रतिदिन जर्जर हुँदै गएको र किसान तथा किसानका परिवार ऋणमा चुर्लुम्म डुबेर आत्महत्याको बाटो रोज्नुपरेको विडम्बनापूर्ण अवस्था अहिले विद्यमान छ । साथै यी दुई देशमा आफ्ना मौलिक परम्परागत वस्तुहरूको प्रयोग दिनप्रतिदिन घट्दै जाने र पाश्चात्य हानिकारक वस्तुहरूको प्रयोग बढ्दै जाने स्थिति किन आयो ?

आखिर मूल रूपमा वैदिक सनातन संस्कृतिमा किसान र किसानमैत्री वातावरण थियो वा थिएन ? यसको मूूल श्रृंखला कसरी खण्डित हुन पुग्यो र यो विडम्बनाको अवस्था कसरी निम्तियो ? भनी विश्लेषण गर्नुपर्ने भएको छ । साथै मौलिक परम्परागत वस्तुलाई आधुनिक सहरिया जगतले पनि प्रयोग गर्न मिल्ने वस्तुका रूपमा औद्योगिक उत्पादन गर्ने दिशामा किन प्रगति हुन सकेन ? यी विषयमाथि मन्थन गरी आगामी दिनका लागि वर्तमानमा कदम चालिनुपर्ने देखिन्छ ।

कर्मकाण्डीय कार्यमा समावेशी कृषि उपजहरूको प्रयोग व्यवस्था

सनातन धर्म–संस्कृतिमा गर्भाधारणदेखि मृत्युपर्यन्त विभिन्न सांस्कारिक कार्य छन् । जसमा विविधखाले मन्त्रोच्चारण तथा आरम्भदेखि अन्तसम्मका प्रकृयागत विधि तोकिएका छन् । साथै ती फरक–फरक सांस्कारिक कार्यमा फरक–फरक कृषि उपज अर्पण गर्ने व्यवस्था गरिएको छ । 

जसमा पञ्चामृत बनाउन प्रयोग हुने गाईको दूूध, दही, घ्यु, मह र सख्खर मुख्य वस्तुका रूपमा रहेका छन् । यी सबै वस्तु उत्पादन कृषकले गर्ने र ती वस्तुको प्रयोगबाट आर्थिक चक्र किसान–किसानसम्म पुग्ने दीर्घकालीन सोचसहितको व्यवस्था भएको स्पष्ट अनुभूति गर्न सकिन्छ । 

साथै अनुष्ठानहरूमा आवश्यक पर्ने सामग्रीको सूचीलाई विश्लेषण गर्ने हो भने आर्थिक समावेशीकरणको अनुपम अभ्यास देखिन्छ । किनकि हरेक भौगोलिक क्षेत्रमा उत्पादित हुने सामग्री विभिन्न खाले धार्मिक अनुष्ठानमा प्रयोग गर्नुपर्ने व्यवस्थाले अनेकौं भौगोलिक स्थानमा बसोबास गरी कृषिकार्यमा आबद्ध किसानलाई आर्थिक लाभ हुने चक्र सृजित भएको देखिन्छ । 

अनुष्ठानहरूमा प्रयोग हुने काँचो सुपारी, नरिवल, केरा, पान, पानमसला, ल्वाङ्ग, सुकमेल, कपुर, कपास, कपासको बत्ती बयर, विभिन्न प्रकारका फरक–फरक कपडा, मिष्ठान्न, धतुरो, बेल तथा बेलको पात, दुुबो, बिमिरो, मेवा, फूल, अगरबत्ती वा धुुप, चन्दन, केशरी, चामल, दूध, दही, घ्यू, मह, गुण, उखु आदि किसानले उत्पादन गर्ने वस्तु हुन् । अझ कतिपय शाक्त परम्पराअन्तर्गतका पूजाआजामा पशुबलीको व्यवस्थालाई पनि विस्तृत रूपमा केलाउन जरुरी देखिन्छ । यसबाट किसानहरूले पालेका पशुहरू ती पूजाआजामा किनेर लैजाने चक्र स्पष्ट देखिन्छ । यसबाट पशुपालनमा आब किसानहरू आर्थिक रूपमा प्रत्यक्ष लाभान्वित हुने स्थिति रहिआएकै छ ।

पूजा तथा अनुष्ठानमा यी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्थाले पूजा गर्ने जातकले खरिद गर्नैपर्ने अवस्था आउँछ । यसरी यी सामान कुनै पनि ग्राहकले खरिद गर्ने बित्तिकै यसको आर्थिक लाभ फरक–फरक भौगोलिक स्थानमा बसोबास गर्ने किसानसम्म पुग्ने निश्चित नै छ । यसरी हेर्दा वैदिक सनातन धर्म संस्कृतिको मेरुदण्ड कोर्ने ऋषिमुनि विद्वान वैज्ञानिकहरूले निकै सोच विचार गरी यस्तो व्यवस्था गरेको हुनु पर्दछ ।

औद्योगिक उत्पादन गर्न किन चुक्यो पूर्वीय जगत

वैशाख शुक्ल तृतीया जसलाई लोकमा अक्षयतृतीया भनिन्छ । वैशाख महिना गर्मी महिना हो । त्यसैले वैदिक सनातन संस्कृतिमा यस दिन शीतलता दिने सर्वत खाने परम्परा नै स्थापना भयो । यो प्रचलन अहिलेसम्म पनि चलिआएको नै छ । तर यहाँनेर एउटा पक्षबाट हेर्नुपर्ने जरुरी के छ भने आजभन्दा कम्तीमा पनि पाँच हजार वर्षअघिदेखि अभ्यासमा रहेको यस्तो अभ्यासलाई आधुनिक समाजमा यसको आवश्यकता सम्बोधन गर्ने गरी औद्योगिक वस्तुको स्वरूप दिन यो सभ्यता किन चुक्यो ? जबकि पाश्चात्य जगतमा मानिसको शरीरलाई हानि गर्ने तर शीतलता प्रदान गर्ने कोक, पेप्सी, फेण्टाजस्ता पेय पदार्थ उत्पादिन हुन सके । त्यही पाश्चात्य दुनियाँले केमिकलको रूपमा उत्पादित सोही पेय पदार्थ भारत वर्षसहित पूर्वीय दर्शनमा आधारित देशमा धमाधम प्रयोग गर्नैपर्ने अवस्था आएको छ । यी देशका नागरिकमा पैसा तिरेर शरीरमा विषादीयुक्त केमिकल खानुपर्ने अवस्था छ । 

आफ्नै माटोमा अत्यन्त मौलिक र शरीर तथा मष्तिष्कलाई फाइदा गर्ने सर्वत जस्तो पदार्थलाई आधुनिक रूप दिएर मास उत्पादन, मास आपूर्ति तथा मास उपभोगको रूपमा यो विस्तारित हुने विषयमा पूर्वीय समाजले सोच्नै सकेन । केवल अक्षयतृतीयाको एक दिन सर्वत खानेमा मात्र सीमित बन्न पुग्यो । 

त्यसैगरी भारतवर्षका देशमा रहेका मौलिक फास्टफुडहरूको औद्योगिक उत्पादन हुन सकेन भने पाश्चात्य देशहरूले बनाएका वस्तुको प्रयोग धमाधम गर्नैपर्ने अवस्था आयो । जस्तोकि सेलरोटी, मालपुवा, सातु, खट्टे, परम्परागत भुजा, अर्सा, अनरसा, खिउनी, भुटेको मकै, भुटेको भट्टमास आदि वस्तुहरूको औद्योगिक स्वरुप दिने प्रयास भएन । फलस्वरुप बदलिँदो शहरीकरणसँगै सहरमा बस्ने ठूूलो जनसंख्यालाई आवश्यक पर्ने वस्तुहरू मौलिक तवरबाट आपूर्ति हुन सकेन । यस्तो बदलिँदो परिस्थितिमा आवश्यक पर्ने बोक्न सजिलो हुने, प्याकिङ भएको र देख्दा पनि राम्रो देखिने गरी यी मौलिक वस्तुको रूपान्तरित हुनुपर्नेमा सो दिशामा कुनै पनि कदम चल्न सकेन । जसले गर्दा सहरमा बसोबास गर्ने मानिसले आफ्ना मौलिक सामानको प्रयोग दिनप्रतिदिन छोड्दै सजिलो स्वरुपमा आएका पाश्चात्य सामग्री जस्तै बिस्कुट, पफ, कुकिज, पाउरोटी, चाउमिन, मःम, चाउचाउ, मैदाजन्य तमाम अन्य उत्पादन वस्तुहरूको प्रयोग ह्वात्तै बढ्यो ।

आखिर यस्ता फास्टफुड भनिने खाद्य पदार्थले स्वास्थ्यमा नकारात्मक असर पार्ने, मोटोपना बढाउनेजस्ता समस्याका कारण पुनः परम्परागत खाद्य पदार्थको प्रयोगमा जानुपर्ने अवस्था आएको छ । यो अवस्थामा परम्परागत वस्तुहरूलाई औद्योगिक वस्तुका रूपमा उत्पादन गर्ने अवसरका रूपमा आएको छ भन्न सकिन्छ ।

स्वदेशी मन, दृढता र पुँजी परिचालनको आवश्यकता

मौलिक रूपमा प्रयोग भइआएका वस्तुको औद्योगिक उत्पादन विस्तारका लागि कुनै पनि विदेशी लगानी आउने छैन वा कुनै पनि विदेशीले चासो दिने छैन किनकि यो विषय उनीहरूका लागि प्राथमिकतामा पर्ने विषय नै होइन । त्यसैले आफ्ना मौलिक त्यस्ता सामग्रीको औद्योगिक हैसियतमा उत्पादन गरेर व्यवसायिक रूप दिन यही माटोमा हुर्के बढेका उद्योगी व्यवसायीको सोच विकास हुनुपर्ने देखिन्छ । पाश्चात्य जगतको प्रविधिमा उत्पादित भई बजारमा दबदबा जमाइरहेका सामानसँग प्रतिष्पर्धा गर्ने गरी स्थानीय मौलिक सामानको उत्पादन र बिक्री सामान्यतया कठिन जस्तो देखिए पनि दीर्घकालीन रूपमा त्यो सोच फलदायी बन्न सक्छ । मानिसको आवश्यकता पहिचान गरी आकर्षक प्याकेजिङका साथ हाइजेन र पोषणलाई ध्यान दिँदै ती सामानको आपूर्ति गर्न सकेमा कोही कसैले पनि पैसा तिरेर विष सेवन अवश्य गर्दैन । 

केही उदाहरणका रूपमा हामी लिन सक्छाैं कि कुनै दिन स्थानीय रूपमा घरघरमा मात्र बनाइने सेलरोटी आज देशका ठूूलाठूूला डिपार्टमेण्ट स्टोरदेखि विदेशमा रहेका नेपालीसम्म लोकप्रिय बनेका छन् । कुनै दिन पोलेको मकै खान दकस मान्ने सहरिया नेपाली आजभोलि कार्यालयको टाइसुटसहितको पोशाकमा ठेलामा पोलेको मकै समूहमा गफ गर्दै खाइरहेको यत्रतत्र देख्न सकिन्छ । दृढ अठोटका साथ गुणस्तरको मापदण्ड पूरा गर्दै अक्षय तृतीयामा खाइने सर्वत गर्मी महिनाभर खान मिल्ने गरी बनाएर बोटल बन्द शैलीमा बजारमा पु¥याउन सके यो व्यावसायिक फाइदा दिने वस्तु बन्दैन भन्न मिल्दैन । आजभोलि अभिभावकले आफ्ना केटाकेटीलाई बिहान र अन्य समयमा पनि सातु खान प्रेरित गरिराखेको सन्दर्भमा सातुको व्यवस्थित औद्योगिक उत्पादन गर्नसके चाउचाउको सट्टा सातु खानुपर्छ भन्ने दिशामा समाज अघि बढ्दै बढ्दैन भन्न मिल्ने ठाउँ छैन । अर्थात् समाज त्यो दिशामा अवश्य बढ्छ ।

त्यसैगरी गुन्द्रुक, सिन्की, गाडेको अमिलो तामा, विभिन्न खाले अचारको औद्योगिक उत्पादन सम्भव छ । यसले किसानको उत्थानसहित स्वदेशी पुँजी वृद्धि गरी देशको प्रगति हुने र अन्ततः मौलिक संस्कृतिको प्रवद्र्धनमा पनि अवश्य टेवा दिनेछ । यसतर्फ स्वदेशी पुुँजीपति र उद्योगीहरूको दृष्टिगोचर हुनु नितान्त आवश्यक हुन्छ ।

(टक्सार म्यागजिन, साउन २०७९, पृष्ठ ६३–६४)