काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले सरोकारवालहरुसँग राय सुझाव लिएको छ । शुक्रबार बोर्डले आगामी आर्थिक वर्ष ०८२ /०८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवाला पक्षसँग छलफल गरेको हो ।
समग्र पुँजीबजारको सन्तुलित विकास र विस्तार गर्न सरोकारवाला पक्षहरूको राय सुझाव लिन आवश्यक रहेको बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।
“समग्र पुँजीबजाको सन्तुलित विकास, विस्तारका साथै पारदर्शी र विश्वसनीय बनाउन लगानीकर्ता र सरोकारवालाहरूको सुझाव महत्वपूर्ण रहन्छ,” श्रेष्ठले भने,“बोर्डको नियामकीय प्रभावकारिता बढाउन समेत साझा प्रयासको खाँचो छ । सबैको साथ र सहयोगले नै हामीले हाम्रो लक्ष्य प्राप्ति गर्छौँ।”
बजारकाे बदलिँदो परिवेशमा, लगानीकर्ता र सरोकारवालाको बढ्दो सहभागिता र राज्यको आर्थिक विकासमा यसले गरिरहेको योगदानको भूमिका पनि बढिरहेको अवस्थामा सम्वेदनशील हुन आग्रह गरे ।
स्टक ब्रोकर एसाेसिएसनले मार्जिन ट्रेडिङको कार्यलाई पूर्ण कार्यान्वयन ल्याउनमा आएको नीतिगत र व्यवहारिक अड्चन हटाई सहजीकरण गर्ने र दलाल व्यवसायी कम्पनीहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ ।
एसाेसिएसनले धितोपत्र दोश्रो बजारमा सर्वसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत बिस्तार गर्न आधिकारिक प्रतिनिधि वा सब–ब्रोकरको अवधारणा लागू गर्न माग गर्दै १६ बुँदे सुझाव पेश गरेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नेप्सेको पुनर्संरचना गर्दै नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडी बढाउन सुझाव दिएका छन् ।
ढकालले राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाएकोे सीमा खारेज गर्नुका साथै ब्रोकरको कार्यक्षेत्र विस्तार गरी ७७ जिल्लाबाटै सहजरुपमा कारोबार गर्न सक्ने व्यवस्था गर्नुपर्ने, संस्थागत लगानीकर्ता (नागरिक लगानीकोष, सञ्चयकोष, भेन्चर क्यापिटल,सामाजिक सुरक्षाकोष, विमा कोष लगायत विभिन्न कल्याणकारी कोषलाई दोस्रोबजारमा सहजरुपले कारोबार गर्नसक्ने व्यवस्था मिलाउन सुझाव दिए ।
अध्यक्ष ढकालले धितोपत्र कारोबार गर्दा लाग्ने सबै शुल्कहरु समयाअनुकुल परिमार्जन गर्नुपर्ने बताउँदै सेयर खरिदबिक्री गर्दा लाग्दै आएको दोहोरो करलाई पुनरावलोकन गर्दै एकतर्फी करको व्यवस्था गर्न बोर्डलाई सुझाव दिए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज, सिडीएससी एण्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक डिलर, स्टक ब्रोकर एशोसिएशन अफ नेपाल,क्रेडिट रेटिङ तथा लगानीकर्ता संगठनका प्रतिनिधिले राय सुझाव पेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्