नेपाली श्रम बजारमा विदेशी श्रमिकहरूको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकहरूको प्रभाव दिनप्रतिदिन बढ्दै गएको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालको श्रम र पुँजी बजार संकुचित बन्दै गएको उल्लेख गर्दै, श्रम बजारले अपेक्षा गरेअनुसारको स्वरूप लिन नसकेको स्पष्ट पारेका हुन् ।

“नेपाली श्रम बजारमा नेपालीको भन्दा अरुको बाहुल्यता विस्तार हुँदै गइरहेको छ,” भण्डारीले भने, “हाम्रो श्रम बजारले जे खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्यो उत्पादन गर्न सकेको छैन। यसैले नेपाली श्रमिकको स्थान विदेशीहरूले ओगटिरहेका छन्।”

उनले श्रम बजारको माग र शिक्षा प्रणालीबिच मेल नखेल्दा युवाहरू लामो समय शिक्षामा लगानी गरे पनि जीवनमा आत्मनिर्भर हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

“एक जना युवा, जसले २० वर्षसम्म पढाइमा लगानी गर्छ, आमा(बुबाले गाँस काटेर पढाउँछन्, तर जब श्रम बजारमा जान्छ, उसले आफ्नो सीप प्रयोग गर्न सक्दैन,” भण्डारीले भने, “अब श्रम बजार नेपालीका लागि, नेपाली सीपका लागि बन्नैपर्छ।”

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पढ्दै, कमाउँदै भन्ने नयाँ कार्यक्रम अघि सारेको जानकारी पनि दिए। यो कार्यक्रमले श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्ने विश्वास उनले व्यक्त गरे।