काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले सरकारले लघु तथा मझौला उद्योग प्रवर्धन, सीप विकास, औद्योगिक ग्राम निर्माण र घरेलु उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जानकारी दिएका हुन् ।
उनले औद्योगिक तथा रोजगारमुखी आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र पूँजीगत खर्चको वृद्धि सुनिश्चित गर्न आवश्यक कानूनी प्रावधानहरू समयानुकूल संशोधन गरिएको उल्लेख गरे।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र औद्योगिक व्यवसाय ऐन, २०७६ लगायतका कानुन संशोधन गरी शासकीय सुधारलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले स्थानीय तहमा सशर्त अनुदानमार्फत लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको र यसबाट रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताए । साथै, घरेलु मदिराको ब्राण्डिङका लागि बजेट विनियोजन गरिएको र अन्तःशुल्क तथा मदिरासम्बन्धी नियमावली संशोधनको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।
रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न विवरण संकलन भइसकेको र अब अर्थ मन्त्रालयसँग आवश्यक समन्वयको प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्