काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीकाे नियन्त्रणमा


काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूमध्ये दुईजना काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकबाट र एकजना गोकर्णेश्वर नगरपालिका–६, बेशीगाउँबाट पक्राउ परेका हुन्।

बागमती प्रदेश ०२–०५५ प ४०६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको पशुपतिमा बस्दै आएका २२ वर्षीय सन्तोष कोईराला र २७ वर्षीय सजिर श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भन्दै गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

नियन्त्रणमा परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० दीपक गिरीले जानकारी दिए।

त्यसैगरी, बागमती प्रदेश ०२–०२२ प ३४४८ नम्बरको मोटरसाइकलसहित काभ्रेपलाञ्चोक स्थायी घर भई हाल जोरपाटी बस्दै आएका ३७ वर्षीय देवराज योञ्जनलाई पनि ट्राफिक प्रहरीले गोकर्णेश्वर–६ बेशीगाउँबाट नियन्त्रणमा लिएको छ। सो मोटरसाइकल काठमाडौँको बुढानीलकण्ठबाट हराएको थियो। सोलुखुम्बु स्थायी घर भई हाल चाबहिल बस्दै आएका काजी शेर्पाले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

एसपी गिरीले सबै सवारी साधनधनीलाई आफ्नो सवारी सुरक्षित स्थानमा पार्क गर्न, ह्यान्डल लक, चेन लक, डिस्क लक, ह्विल लक तथा साइरन जडान गर्न आग्रह गरेका छन्। साथै, सुनसान र कम जनचहलपहल हुने स्थानमा सवारी साधन पार्क नगर्न सुझाव दिएका छन्।