प्रधानमन्त्री ओलीको विश्व समुदायलाई ध्यानाकर्षण, ‘विकास सहायता परोपकार होइन, साझा समृद्धिको सहयात्रा हो’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायता परोपकारको रूपमा बुझ्ने परम्परागत सोचलाई तोड्न आग्रह गर्दै यसलाई नागरिकको क्षमता अभिवृद्धि, गरिबी निवारण र दिगो विकासको माध्यमका रूपमा प्रयोग गर्न विश्व समुदायलाई अपिल गरेका छन् ।

स्पेनमा जारी संयुक्त राष्ट्रसङ्घीय चौथो अन्तर्राष्ट्रिय सम्मेलन “विकासका लागि वित्त” को अवसरमा आयोजित उच्चस्तरीय ‘राउन्ड टेबल’ छलफलमा प्रधानमन्त्री ओलीले विश्वका सबै मुलुकलाई समेट्ने समावेशी तथा दिगो विकास साझेदारीको खाँचो औँल्याए ।

समानान्तर कार्यक्रम होइन, सशक्त सहकार्य

“सरकार र गैरसरकारी संस्थाबाट उस्तै प्रकारका साना साना विकास परियोजनाहरू सञ्चालन गर्ने प्रवृत्तिले समतामूलक विकासले गति लिँदैन”, प्रधानमन्त्री ओलीको प्रष्ट भनाइ थियो । उनले विकास साझेदारहरू निश्चित सञ्जालमार्फत समन्वयकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

सेभिया प्रतिबद्धताको सन्दर्भ उल्लेख गर्दै उहाँले उक्त सहमतिलाई व्यवहारमा उतार्न आह्वान गरे । “विकास सहायताको प्रभावकारी प्रयोगका लागि अब बोली होइन, व्यवहारमा प्रतिबद्धता देखाउन आवश्यक छ”, प्रधानमन्त्री ओलीले विश्व नेताहरू समक्ष भने ।

पानी, स्वच्छता र मानव अधिकार

प्रधानमन्त्री ओलीले अर्को कार्यक्रममा, “खानेपानी र सरसफाइ क्षेत्रमा राष्ट्र प्रमुखहरूको नेतृत्व” शीर्षकक बैठकको अध्यक्षता गर्दै नेपालका सबै नागरिकलाई सुरक्षित र स्वच्छ पानीमा पहुँच पुर्याउने सरकारको प्रतिबद्धता दोहोर्याए ।

“नेपालको संविधानले सरसफाइ र खानेपानीलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ”, उनले भने, “हामी समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा अगाडि बढिरहेका छौँ, जहाँ प्रत्येक परिवारलाई आधारभूत सेवाको पहुँच सुनिश्चित हुनेछ।”

हालसम्म नेपालले ९६ प्रतिशत जनतालाई पानी आपूर्ति गर्न सफल भएको भए पनि गुणस्तरीय र दिगो सेवामा अझै चुनौती रहेको उनले स्पष्ट गरे । उनले समन्वयमा आधारित परियोजनाहरू आवश्यक रहेको उल्लेख गर्दै विकास साझेदारहरूलाई सहयोगका लागि आग्रह गरे ।

अवधारणात्मक परिवर्तनको आग्रह

“अब हामीले विकास सहयोगलाई युग सुहाउँदो नयाँ दृष्टिकोणबाट पुनर्परिभाषित गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले “विश्वव्यापी ऐक्यबद्धतामा लगानी” विषयक सत्रमा भने ।

उनका अनुसार विकास सहायता केवल वित्तीय हस्तान्तरणको सवाल नभई, साझेदारी, संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि र समावेशी विकासको अभियान हो ।

प्रधानमन्त्री ओलीले विशेषगरी अति कम विकसित मुलुकहरूलाई वित्तीय, प्रविधिक र नीतिगत सघनतामा सहुलियतपूर्ण पहुँच दिनुपर्नेमा जोड दिँदै विकास साझेदारहरूप्रति आभार प्रकट गरे ।

दिगो विश्वका लागि साझा प्रयास

वर्तमान विश्वमा पुनरुत्थानशील राष्ट्रवाद, संरक्षणवाद, तथा क्षेत्रीय द्वन्द्वले विकासको मार्ग अवरुद्ध पारिरहेको सन्दर्भ उल्लेख गर्दै उनले दिगो शान्ति, साझा समृद्धि, जलवायु न्याय र निष्पक्ष संसार निर्माणका लागि विश्वव्यापी सहकार्य अपरिहार्य रहेको औँल्याए ।

“हामी एउटा यस्तो संसार सिर्जना गरौँ, जहाँ कोही पनि पछाडि नपरोस्, जहाँ प्रत्येक बालबालिकाले सफा पानी पिउने छ, प्रत्येक परिवारमा सुरक्षित शौचालय हुनेछ र प्रत्येक समुदाय सम्मानका साथ बाँच्ने वातावरण बनाउने छ”, प्रधानमन्त्री ओलीको मन्तव्यले सम्मेलनको भावनालाई जीवन्त बनायो ।

प्रधानमन्त्री ओलीले मंगलबार पनि विभिन्न मित्रराष्ट्रका प्रतिनिधिहरूसँग छलफल र भेटवार्ता गर्दै नेपालको विकास प्रयासमा निरन्तर सहयोगका लागि अनुरोध गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको यो हस्तक्षेप परम्परागत विकास सहायता अवधारणामाथि गम्भीर पुनर्विचार गर्न विश्व समुदायलाई सन्देश दिन्छ । परोपकारको भावनाभन्दा माथि उठेर दिगो साझेदारी र परिणाममुखी सहकार्यमार्फत मात्र एक समावेशी, समतामूलक र समृद्ध भविष्य सम्भव हुने उनको स्पष्ट सन्देश हो ।