काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनमा २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसम्बन्धी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले सो जानकारी दिएका हुन् ।
मन्त्री अधिकारीका अनुसार मल आपूर्तिको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयात गर्न टेन्डर आह्वान भइसकेको छ। उनले स्वदेशी उन्नत बिउबिजनको प्रवद्र्धनमा समेत मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गर्दै कृषक समूह, सहकारी संस्था र निजी क्षेत्रमार्फत बिउ उपलब्ध गराइँदै आएको जानकारी दिए ।
“नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभाग अन्तर्गतका फर्महरूबाट उत्पादन गरिएका उन्नत बिउहरू निजी क्षेत्र र सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने काम भइरहेको छ,” उनले भने, “बिउ उत्पादन तथा व्यवस्थापनमा निजी क्षेत्रलाई बढी जिम्मेवारी दिइएको छ।”
उनले आगामी वर्षमा १८० स्थानीय तहका कृषक समूहलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान दिने कार्यक्रम पनि बजेटमार्फत अघि सारिएको जानकारी गराए ।
कृषकको आत्मनिर्भरता, उत्पादकत्व वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणका लागि विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री अधिकारीले प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्