स्वनियमनको पद्धति बिग्रिएपछि सहकारीमा केही समय नियन्त्रण आवश्यक छः मन्त्री अधिकारी


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुप¥यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए । उनले नियमन प्राधिकरण बनेसँगै काम नै सुरूवात नभइ नियन्त्रण खबरदार भन्ने गरिएको बताए ।

उनले बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउन नसक्ने जिकिर गरे। आचरणहिन भइसकेको कुरालाई आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्ने जरुरी रहेको बताए।

सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको बताउँदै स्वनियमनमा छोडिदिँदा स्वनियमनको पद्धति तोडेको आरोप लगाए । स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता जरुरी भएको बताए ।