माबिलुङ इनर्जी लिमिटेड : आजदेखि पहिलो चरणको आइपिओमा आवेदन खुला


काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणमा आइपिओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ५ लाख ३६ हजार २९५ कित्ता सेयर आइपिओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात १०० रुर्पैयाँ अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्र अर्था संखुवासभा जिल्लाको मादी नगरपालिका वडा न्ं. ७,८,९ र चैनपुर नगरपालिका २,३,७,८,९ मा स्थायी बसोवास गर्ने वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको हो ।

यो आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यस आइपिओमा साउन ४ गते र ढिलोमा साउन १९ गतेसमम आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गतेसम्म आइपिओमा आवेदन दिइसक्नुपर्नेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंक मादी नगरपालिका,लक्ष्मी सनराइज बैंक र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला मादी नगरपालिका–७ मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आइपिओ जारी गरिसकेपछि दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।