काठमाडाैँ । पछिल्लो समय सिमेन्ट कम्पनीहरूको आम्दानीमा भारी ह्रास आएको छ । ठूला सिमेन्ट उद्योगहरू नै घाटामा सञ्चालन भइरहेको छन् । नाम चलेका अर्घाखाँची सिमेन्ट, मारुती, अग्नी सिमेन्टको नाफामा निरन्तर ओरालो लागेको छ ।
२०८०/८१ मा अर्घाखाँची सिमेन्टले ६ अर्ब ६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ९६ करोडको मात्रै आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ५ अर्ब ७७ करोडको आम्दानी गरेको थियो ।
त्यसअघिको आर्थिक वर्षमा अर्घाखाँची सिमेन्टले ७ अर्ब ५८ करोड आम्दानी गरेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा ब्यापार खुम्चिएको रेटिङ्बाट देखिएको छ ।
पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा सिमेन्टहरूले भने भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् तर पछिल्ला दिनहरूमा भारतले निर्यातमा कडाइ गर्दा त्यसको असर सिमेन्ट कम्पनीमा परेको छ ।
नियामकीय अबरोधहरु दीर्घकालिन रुपमा अझै नहटेकाले कम्पनीलाई निर्यातमा अझै चुनौती कायमै रहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार घरेलु माग सुस्त छ । सोही कारणले पनि सिमेन्ट कम्पनीलाई चुनौती बढाएको छ ।
अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७ दशमलव ५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७ दशमलव ५ प्रतिशत लगानी छ ।
कम्पनी हाल ‘अर्घाखाँची सिमेण्ट’ ब्रान्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको थियो ।
अर्को नाम चलेको कम्पनी हो, मारुती सिमेन्ट । मारुती सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ९८ करोड आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ४ अर्ब ७५ करोडको आम्दानी गरेको थियो ।
यो सिमेन्टले पनि सोचेअनुसार आम्दानी गर्न सकेको छैन । मारुतीले केयर रिटङ कम्पनीको रेटिङ गराउँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि, बजारमा देखिएको अस्वथ्य प्रतिष्पर्धा, नियमकीय अवरोधले उल्लेख्य आम्दानी हासिल गर्न नसकेको देखाएको छ ।
मारुती सिमेन्ट लिमिटेडको स्थापना सन् १९९४ अक्टोबर ३१ मा भएको हो । जसमा राठी समूह र गोयल समूहका कम्पनीहरू समावेश छन् । कम्पनी हाल सिमेण्ट उत्पादन तथा विक्रीमा संलग्न छ । यसले दैनिक १ हजार ५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने र २ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता राख्ने गरेको छ ।
कम्पनीले आफ्नो क्लिङ्कर उत्पादन क्षमता थप १ सय ८ सय मेट्रिक टन प्रतिदिन र उत्पादन क्षमता थप २ हजार मेट्रिक टन प्रतिदिनले बढाउने योजना राखेको छ ।
पुरानो नाम चलेको अग्नी सिमेन्टको नाफा समेत घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको छ । सन् २०२४ मा निर्माण कार्यले गति नलिँदा व्यापारमा कमी आएको छ ।
सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले व्यापार घट्नुको कारण मूल्यवृद्धि पनि एक देखिएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा विक्री गरेको थियो । तर सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००७ मा स्थापान भएको कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्