काठमाडाैँ । रसुवामा मङ्गलवार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ । जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको नदेखिएको र अन्य सम्भावित कारणहरू पनि हुनसक्ने भएकाले विस्तृत अध्ययन भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू–उपग्रह तस्वीरहरूको विश्लेषण गरिरहेको बताएको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विभागका मौसमविद् विनोद पराजुलीले बादलले छेकेका कारण तस्बिरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताए। भोटेकोशी र त्रिशुली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि सामान्य जोखिम मनसुन भरि कायमै रहेको बताए ।
उनले भने,“यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ । तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू–उपग्रहका तस्बिरहरू प्राप्त भएका छन् । तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन,”उनले भने ।
विभागले बाढी भारी वर्षातको कारणले नभएको बताएको छ । हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिव २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको बताएको छ ।
मौसमविद् पराजुलीले बाढीको प्रकृति असामान्य रहेको र १०–१५ घण्टासम्म एकनासले बाढी आएको जानकारी दिनु भयो । यो पहिलाको प्रकृतिभन्दा फरक रहेको बताए । विभागले हिमताल विस्फोटलाई मुख्य सम्भावित कारण मानेर अध्ययन गरिरहेको छ । तत्कालका लागि जोखिम घटे पनि सामान्य जोखिम कायमै रहेको विभागको अनुमान छ । छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्