थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन,अध्यक्षसँग के भएको थियो ?


दाङ । राेल्पाकाे थबाङ गाउँपालिकामा अचम्मको र चिन्ताजनक घटना घट्यो-प्रमुख प्रशासकीय अधिकृतसहित सातजना कर्मचारी सम्पर्कविहीन बने । जसकाे जानकारी गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले विज्ञप्तिमार्फत् गराए ।

असार मसान्त याेजनाकाे भुक्तानी गर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी कार्यालयकाे सम्पर्क बाहिर रहेकाे भन्दै अध्यक्ष बुढामगरले विज्ञप्ति जारी गरी कर्मचारीलाई सम्पर्कमा ल्याइदिन सार्वजनिक अपील गरेका छन् ।

घटनाकाे नालीबेली
मिति २०८२ असार २४ गते बिहानदेखि थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

गाउँपालिकाले सार्वजनिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, लेखापाल, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे र सवारी चालक असार २४ गते बिहानदेखि सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।

गम्भीर कुरा के छ भने, गाउँपालिकाभित्र सम्पन्न नभएका योजनाहरूको भुक्तानी दिन राजनीतिक तहबाट दबाब परेपछि प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरू हराएको भन्ने तथ्य सार्वजनिक भइरहेका छन् । स्रोतहरूका अनुसार योजनाहरू कागजमा मात्रै सम्पन्न देखाइएका छन्, जबकि भौतिकरूपमा ती कार्यहरूमध्ये धेरैजसो अझै अधूरै छन् ।

थवाङ गाउँपालिकाको कार्यालयबाट प्राप्त जानकारी अनुसार मिति २०८२ असार २३ गते राति ९ बजे प्रमुख प्रशासकीय अधिकृत OTP कोड प्राप्त गर्न रुकुमपूर्व जाने नाममा कार्यालयबाट निस्किएका थिए । नेपाल टेलिकमको नेटवर्क समस्या जनाउँदै उनीहरूले कार्यालय सम्पर्क गर्न नसकेको भनिए पनि भोलिपल्टदेखि नै फोन अफ हुनु र कार्यस्थलमा अनुपस्थित रहनु संयोग मात्र होइन भन्ने धेरैको ठम्याइ छ ।

अधुरा याेजनाकाे भुक्तानी गर्न दबाब दिएपछि कर्मचारी फरार
थबाङ गाउँपालिकामा हालै सम्पन्न भनिएका केही योजना अझै भौतिकरूपमा अधूरा छन् तर ती अधूरा योजनाहरूको बिल भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतमाथि राजनीतिक तहबाट तीव्र दबाब दिइएको थियो ।

स्रोतहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले काम सम्पन्न नभएको देखाउँदै अनावश्यक भुक्तानीमा सहमति जनाउन मानेनन् ।

त्यसै रात, असार २३ गते, उनी OTP कोड लिन रुकुमपूर्व जाने नाममा कार्यालयबाट निस्के । भोलिपल्टदेखि सम्पर्कविहीन छन् । अन्य ६ जना कर्मचारी पनि उनीसँगै सम्पर्कबाहिर छन् । खोजी गर्दा रुकुमपूर्वमा पनि नभेटिएको र सबैको मोबाइल स्विच अफ रहेको गाउँपालिकाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।