अहिलेको युगलाई सूचना प्रविधिको युग भन्ने गरिन्छ अझ नयाँ विश्वव्यापी विश्वभरिको प्रविधि छलाङ यति चाँडो भएको छ कि आज हामीले सोचेका वा चलाएका प्रविधिहरु चार–पाँच वर्ष नबित्दै पुरानो भइसक्दछन् । अहिले अर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआइको प्रयोग व्यापक रुपमा बढेको छ । विश्वभरि यही सूचना तथा सञ्चार प्रविधिमा नयाँ अवसर सँगै थुप्रै खालको चुनौती र जोखिमहरु पनि बढाएर लगेको छ ।
नेपालमा भर्खरै मात्र इन्टरनेटको प्रयोग उच्चतम गतिमा बढिरहेको र यसले सहरी क्षेत्र मात्र नभई ग्रामीण क्षेत्रको समेत डिजिटल डिभाइड हटाउनको लागि योगदान दिइरहेको समयमा नयाँ विकासक्रमले के प्रभाव पर्ने हो भन्ने विषयलाई गहन रुपमा विश्लेषण गर्नुपर्ने आवश्यकता बढाएको छ । नेपालमा कोभिड १९ महामारीपछि सूचना तथा सञ्चार प्रविधिको प्रयोग उच्चतम गतिमा बढेको देखिन्छ । अहिले नेपालको झन्डै ७२ प्रतिशत घरधुरीमा इन्टरनेट सहितको मोबाइल फोन पहुँच पुगिसकेको छ । एउटा परिवारमा औसत ४ जनाको संख्या राख्दा इन्टरनेटको पहुँचले जनसंख्याको लगभग सतप्रतिशत हिस्सालाई ओगटिसकेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँदछ । यद्यपि नेपाल टेलिकम र एनसेल दुवै कम्पनीका सिम कार्डहरू धेरै व्यक्तिहरुले दोहोरो रुपमा प्रयोग गर्ने भएकोले वास्तविक प्रयोगकर्ता संख्या लगभग ७० देखि ८० प्रतिशतमात्र भएको अनुमान रहेको छ ।
यसको महत्वपूर्ण हिस्सा युवा जनसंख्याले ओगटेको छ । हरेक पाँच घरमध्ये चार घरका वयस्क र युवा नागरिकहरू वैदेशिक रोजगारीमा गएको तथा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले घरपरिवारहरूको आय स्तर उकासेको कारण सँगसँगै विश्वव्यापी प्रविधि पहुँच सस्तो बन्दै जाँदा लगभग हरेक नागरिकको हातमा यतिबेला स्मार्ट फोन पुगेको छ । स्मार्ट फिल्म उजयलभ प्रयोगकर्ताहरूको सङ्ख्या बढेसँगै सामाजिक सञ्जालहरू फेसबुक टिकटक युट्युब ट्विटर ष्लकतबनचबm आदिमा युवाहरूको उल्लेखनीय पहुँच र प्रस्तुतिहरु देख्न थालिकिएको छ । यो एक किसिमले अवसर र चुनौती दुवै बन्न पुगेको छ । कोभिड १९ महामारीपछि अनलाइनमा आधारित शिक्षा प्रणाली वा तालिम प्रशिक्षणहरू व्यापक रुपमा विकसित गरियो त्यसै अनुरुपका एपहरु निर्माण गरियो र तिनको प्रयोग बढाउनका लागि अवसरहरु पनि सिर्जना गरियो बिस्तारै जनजीवन सामान्य बन्दै जाँदा प्रविधिको पहुँच र प्रयोग भने बिस्तारै बढ्दै गएको देखिन्छ ।
नेपालमा पहुँच
राष्ट्रिय जनगणना अनुसार २०६८ सालमा देशभरिका केबल १ लाख ८० हजार ७४६ घरधुरी इन्टरनेटको पहुँचमा रहेकोमा २०७८ सालमा २५ लाख १४ हजार ५१० घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । सोही कार्यालयद्वारा सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण चौथोको नतिजाले पनि राष्ट्रिय स्तरमा इन्टरनेटमा पहुँच ३९.७ प्रतिशत पुगेको देखिन्छ । राष्ट्रिय स्तरमा कुल घरधुरीको ३७.७४ प्रतिशतमा इन्टरनेट जडान भएको देखिन्छ । बागमती प्रदेशमा सबैभन्दा बढी इन्टरनेट पहुँच ५५.१६ प्रतिशत छ भने कर्णालीमा सबैभन्दा कम २०.२६ प्रतिशत छ । अर्थात् देशभरिका कुल ६६ लाख ६० हजार ८४१ घरधुरीमध्ये केबल ३७.७५ प्रतिशत घरधुरीमात्र इन्टरनेटको पहुँचमा रहेको देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई केलाउँदा, ब्रोडब्यान्ड इन्टरनेट ग्राहकहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको देखिन्छ । प्राधिकरणको एमआईएस प्रतिवेदन अनुसार, विसं २०७७ वैशाखमा कुल ब्रोडब्यान्ड ग्राहक संख्या २ करोड १५ लाख ७६ हजार ५७७ रहेकोमा २०८१ चैत मसान्तसम्ममा यो संख्या बढेर २ करोड ९१ लाख १५ हजार ९५७ पुगेको छ ।
राष्ट्रिय रूपमा कुल घरधुरीको ७३.२३ प्रतिशतले मोबाइल फोन चलाउने गरेको देखिएको छ । नेपालका दुई वटा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम र एनसेलबीचको तीव्र प्रतिष्पर्धा तथा सस्ता दरका मोबाइल फोनको सहज उपलब्धताले यो पहुँच बढाएको हो ।
विसं २०६८ सालमा नेपालभरिमा ३५ लाख ४ हजार ९२९ मोबाइल फोन रहेकोमा २०७८ सालमा यो संख्या ९७ लाख ३९ हजार ४४६ पुगेको देखियो जसअनुसार नेपालभरि साधारण खालका मोबाइल फोन ४८ लाख ७६ हजार ५६१ वटा छन् भने स्मार्ट फोन ४८ लाख ६२ हजार ८८५ वटा छन् ।
देशभरिका ७३ प्रतिशत घरधुरीमा कम्तिमा एउटा मोबाइल फोन रहेको राष्ट्रिय आँकडा रहे पनि प्रदेशअनुसार यसको उपयोग फरक फरक छ । कोशी प्रदेशको ५४.५७ प्रतिशत घरधुरीमा एउटा मोबाइल फोन हुँदा कर्णालीमा १७.६३ घरधुरीमा मात्र मोबाइल पहुँच भएको देखिन्छ ।
स्मार्टफोनको यो व्यापकताले मोबाइल डेटामा आधारित इन्टरनेट प्रयोगलाई अत्यधिक बढावा दिएको छ । धेरै नेपालीका लागि स्मार्टफोन नै इन्टरनेट पहुँचको पहिलो र प्रमुख माध्यम बनेको छ । मोबाइल फोनको लगभग सर्वव्यापी पहुँच र स्मार्टफोनको उच्च दरले डिजिटल सञ्चार, सामाजिक सञ्जालको प्रयोग, अनलाइन सेवाहरूको उपभोग, मोबाइल बैंकिङ र सूचनामा सहज पहुँच बढाएको छ ।
विगतमा डायल–अप र एडीएसएल जस्ता तारवाला (फिक्स्ड) ब्रोडब्यान्ड सेवाहरूको प्रभुत्व रहे पनि हालका वर्षहरूमा मोबाइल ब्रोडब्यान्डले बजारमा आफ्नो बलियो पकड जमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार, विसं २०७७ वैशाखमा कुल ब्रोडब्यान्ड बजारको ५४ दशमलव १४ प्रतिशत हिस्सा ओगटेको मोबाइल ब्रोडब्यान्डको बजार हिस्सा विसं २०८१ चैतमा बढेर ८९ दशमलव २५ प्रतिशत पुगेको छ ।
यस अवधिमा फोरजी ग्राहक संख्यामा २ करोडभन्दा बढीको वृद्धि भएको छ । सञ्चालनमा रहेका दुवै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले देशका ७७ वटै जिल्लामा फोरजी सेवा पुगेको बताएका छन् । यद्यपि प्रविधिगत स्तरोन्नति बाँकी नै रहेका देशका धेरै पहाडी तथा हिमाली क्षेत्रमा अझै पनि थ्रीजी सेवामै भर पर्नुपरेको स्थिति पनि छ ।
चुनौतीको खाडल
सूचना तथा सञ्चार प्रविधिको पहुँचमा भएको समग्र प्रगतिका बाबजुद, नेपालमा गम्भीर प्रकृतिको डिजिटल विभाजन (डिजिटल डिभाइड) रहेको छ । कुल इन्टरनेट जडानको अधिकांश हिस्सा )लगभग ९२ प्रतिशत) सहरी क्षेत्रमा केन्द्रित छ, ग्रामीण क्षेत्रमा मोबाइल ब्रोडब्याण्डमार्फत् इन्टरनेट पहुँच पुगे पनि डिजिटल साक्षरताको कमीका कारण यसको जति सदुपयोग हुनु पर्ने हो, त्यो हुन नसकी केबल सामाजिक सञ्जालमा भिडियो स्ट्रिमिङ हेर्नेमा मात्र सीमित छ ।
पर्याप्त डिजिटल साक्षरता विकास गर्न नसकिएका कारण अनलाइन दुव्र्यवहार, साइबरबुलिङ, गलत सूचनाको प्रसार, व्यक्तिगत गोपनीयताको उल्लंघन, साइबर ठगीजस्ता घटनाहरू पनि बढाएको छ । यस्तो क्रम बढ्दै जाँदा इन्टरनेट प्रयोगकर्ताहरूले असुरक्षित महसुस गर्न बाध्य भइरहेका छन् ।
त्यसैले पहिला त बालबालिका, त्यसमाथि किशोर–किशोरीहरूमाथि हिजोआज बढेको अनलाइन दुव्र्यवहार र साइबर बुलिङका विषय अब सम्बद्ध सबै प्रचलित अनलाइन प्लेटफर्महरू, उदाहरणका लागि फेसबुक, टिकटक, इन्स्टाग्राम आदिमार्फत व्यापक सूचना र सचेतना बढाउनु पर्ने बेला भइसकेको छ । यसका लागि सम्बन्धित अनलाइन प्लेटफर्महरूले आफ्नै रिर्पोटिङ र सचेतनाका लागि विशिष्टीकृत (डेडिकेटेड) संयन्त्र नै बनाउनु पर्छ । हुन त यस सिलसिलामा ससानो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले हालैमात्र रिपोर्टिङ तथा परिवारका सदस्यलाई पनि आबद्ध तुल्याउने (फ्यामिली पेयरिङ) सुविधा कार्यान्वयनमा ल्याइसकेको छ । जसलाई अन्य अनलाइन प्लेटफर्महरूले पनि अनुशरण गर्नु उपयुक्त हुनसक्छ ।
अनलाइन धम्की, अपमान, द्वेषपूर्ण टिप्पणीजस्ता साइबरबुलिङ गम्भीर समस्याका रूपमा बढ्दै छ । लगातारको नकारात्मक टिप्पणी र सामाजिक सञ्जालमा हुने अपमानले युवाहरूमा डिप्रेसन, एक्लोपनसहितको अन्य मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गएको छ ।
यसा विरुद्ध दुई उपाय छन्, पहिला सम्बन्धित अनलाइन प्लेटफर्म (उदाहरणका लागि फेसबुक, टिकटक आदि)मै रहेको उजुरी (रिर्पोर्ट) सेवाको प्रयोग गर्नु, त्यसबारे आफ्ना अभिभावकलाई सुसूचित गर्नु र साइबर बुलिङको क्रम निरन्तर रह्यो भने नेपाल प्रहरीको साइबर अपराध महाशाखामा उजुरी गर्नसकिन्छ । हिजोआज साइबर अपराध महाशाखाले अनलाइनबाटै पनि साइबर अपराधको उजुरी लिने गर्दछ । त्यसका लागि सम्बन्धित बुलिङ वा साइबर अपराधको स्क्रिनसट र आफ्नो नागरिकतासहित तोकिएको ढाँचामा इमेलबाट निवेदन दिनुपर्ने हुन्छ ।
साइबर बुलिङसँगै चिन्तालाग्दो विषय भनेको अहिले डिजिटल ठगी बढेको छ । विभिन्न बहानमा ठगहरूले ओटिपी मागेर बैंक तथा वालेट खाताबाट करोडौं रुपैयाँ चोरी गरिसकेका छन् । यसका साथै तपाईँलाई उपहार र चिठ्ठा पर्यो भनेर ठग्ने, टिकटकमा अपत्यारिलो मूल्यमा सामान देखाइ पैसा पठाउन लगाइ ठग्ने क्रम बढेको नेपाल राष्ट्र बैंकले नै बताएको छ । यस्तो ठगी रोक्न प्रयोगकर्तामा डिजिटल साक्षरता बढाउनका लागि पनि अनलाइन प्लेटफर्महरूले सक्रिय भूमिका खेल्नुपर्ने बेला भएको छ ।
यसैगरि अहिले डिजिटल विश्वमा मिथ्या सूचना र अफवाहहरू फैलिने क्रम तीव्र भएको छ । गलत सूचनाले व्यक्तिगत मनमुटाव सामाजिक ध्रुवीकरण, र त्रास फैलाउने अवस्था छ । यस्ता सूचना र जानकारी यदि गलत भएको लागेमा त्यसका विरुद्ध पनि उजुरी गर्न सकिन्छ । सूचनाको सामना गर्नका लागि मिडिया साक्षरतालाई बढावा दिनु, र प्रविधि कम्पनीहरूले आफ्ना प्लेटफर्महरूमा गलत जानकारीको प्रसार रोक्नका लागि संयन्त्रहरू विकास गर्नु आवश्यक छ ।
सकारात्मक डिजिटल प्रयोग
डिजिटल प्रविधिले शिक्षाको क्षेत्रमा क्रान्ति ल्याएको छ । कोभिड–१९ विश्वव्यापी महामारीपछि अनलाइनमा आधारित शिक्षा सेवामा व्यापक वृद्धि भएको छ । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच प्रदान गर्न, शिक्षकहरूलाई तालिम दिन, र शैक्षिक सामग्रीलाई डिजिटल ढाँचामा रूपान्तरण गर्न डिजिटल प्रविधिको उपयोग बढाउन सकिन्छ ।
यसका साथै सामाजिक सञ्जाल प्लेटफर्महरूले मानिसहरूलाई संगठित हुन, आफ्ना विचार व्यक्त गर्न र विश्वव्यापी दर्शकहरूसँग जोडिन सक्षम बनाएका छन् । अन्य डिजिटल प्लेटफर्महरूले नयाँ कलाकार, लेखक, संगीतकार, र सिर्जनाकर्ताहरूलाई आफ्ना कामहरू विश्वसामु प्रस्तुत गर्न र दर्शकहरूसँग सीधा जोडिन सक्षम बनाएका छन् । साथसाथै, डिजिटल प्लेटफर्महरूले डिजिटल उद्यमीहरूलाई पनि सशक्त बनाएका छन् ।
विश्वव्यापी रूपमा यस दिशामा सकारात्मक परिवर्तनहरू भइरहेका छन् । नेपालले पनि यी परिवर्तनहरूबाट सिक्न सक्छ । व्यक्तिगत रूपमा जिम्मेवार भएर, परिवारमा सचेतना फैलाएर, शैक्षिक संस्थाहरूमा डिजिटल नागरिकता सिकाएर, प्रविधि कम्पनीहरूले सुरक्षामा लगानी गरेर, र सरकारले प्रभावकारी कानुन तथा कार्यक्रमहरू ल्याएर हामी सबैले सकारात्मक अनलाइन संस्कृति निर्माणमा योगदान दिन सक्छौं ।
(कृति सोसल मिडियामा सक्रिय कलाकर्मी तथा सञ्चारकर्मी हुन् ।)
प्रतिक्रिया दिनुहोस्