जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का


काठमाडाैँ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताएका हुन् ।

उनले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताए ।

“हामीसँग भएको अपार जलस्रोतको सदुपयोग, उपयोग गर्नुपर्ने आजको आवश्यकता रह्यो । त्यसका लागि हामीलाई समयानुकलु कानून निर्माण गर्नुपर्ने भयो । त्यसकारण हामी जलस्रोत विधेयकमार्फत मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने प्रयास गरिरहेका छौं,” उनले भने ।

उनले जलस्रोतको दोहन नभई दिगो उपयोगका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताए ।