नेपाल र रुवाण्डाबिच व्यापार, पर्यटन, लगानीमा साझेदारीको सम्भावना छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबिच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताएका हुन् ।

उनले नेपाल र रुवाण्डाबिच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवद्र्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिने बताए।

अध्यक्ष डकालले रुवाण्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गर्दै रुवाण्डा विकास बोर्डको पहल, एकदिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे।

कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपाली जनताका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो । “रुवाण्डाको यात्राले हामीलाई देखाउँछ कि सानो देशले पनि ठूला कुराहरू हासिल गर्न सक्छ,” अध्यक्ष ढकालले भने,“बलियो संस्थाहरू, सरकार र निजी क्षेत्रबिचको सहकार्य नै यसको आधार हो । भन्ने कुरा हाीले रुवाण्डाबाट सिक्न सक्छौं । ”

रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष ढकालले १९९४ मा भएको नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे ।