मनसुनमा सम्भावित विपद् जोखिम बढ्दो, राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उच्च सतर्कता अपनाउन अपिल


काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का घटनाहरूको जोखिम बढिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिसकेको अवस्थामा थप सावधानी र पूर्वतयारी अपरिहार्य भएको पार्टीको भनाइ छ।

“विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो,”रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी, मनसुनको समयमा सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, द्रुत उद्धार, प्रभावकारी राहत वितरण र मानवीय सहयोगका कामहरूमा जुट्न पार्टीका सबै तहका समिति, सदस्य तथा शुभेच्छुकहरूलाई विशेष आह्वान गरिएको छ।

विज्ञप्तिमा जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोसम्भावित क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दालाई सचेत गराउनु पर्नेमा जोड दिइएको छ। साथै, स्थानीय सरकार, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गरी पूर्वतयारीमा जुट्न भनिएको छ। पार्टीले त्रिपाल, टर्चलाइट, प्राथमिक उपचार सामग्री र अन्य आवश्यक वस्तुहरूको व्यवस्थापनका लागि स्वयंसेवक समूह सक्रिय बनाउन पनि आग्रह गरेको छ।

विपद् भएको खण्डमा उद्धार कार्यमा तुरुन्त खटिनुपर्ने, पीडितलाई सुरक्षित स्थानमा सार्ने र संकलित राहत सामग्री निष्पक्ष रूपमा वितरण गर्ने व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। घाइतेको उपचार र अस्पतालसम्म पुर्‍याउन सहयोग गर्ने, साथै पीडितको यथार्थ विवरण संकलनमा स्थानीय तहलाई सहजीकरण गर्न पनि पार्टीले निर्देशन दिएको छ।

“विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरूलाई मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौं।”