प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले


काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गरेका छन् ।

सोमबार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गरेका हुन् । अध्यक्ष दाहालको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको बर्तौलाको दाबी छ ।

उनले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारत्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्ने बताए ।

“विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसदमा प्रश्तुती राख्नुभयो । त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरु दिनुभयो,” उनले भने, “संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो । यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ ।”

अहिले संविधान र व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा पार्ने प्रवृत्तिहरु सलबलाइरहेको तथा व्यवस्थाका विरुद्ध ढुंगा हान्ने प्रवृत्तिहरु क्रियाशील भइरहेको उनले बताए ।