प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताएका हुन् । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानविन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताए । 

“आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्नेकुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु,”उनले भने ।