काठमाडाैँ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना पछिल्ला वर्षहरूमा चितवनकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो झरना ‘लामो झरना’ का नामले समेत चिनिन्छ, जसको उचाई झण्डै १०२ मिटर रहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिब १ किलोमिटर उकालो पैदलयात्रा गरेपछि पुगिने झरना वन क्षेत्रमा अवस्थित छ। झरनाको फेदमा चार–पाँच फिट गहिरो प्राकृतिक पोखरी निर्माण भएको छ, जसलाई झरना विकास समितिले थप व्यवस्थापन गर्दै आकर्षक बनाएको छ। गर्मी महिनामा शीतलताको खोजीमा यहाँ आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ।
हाल झरना क्षेत्रमा क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ जस्ता साहसिक गतिविधिहरू सञ्चालनमा छन्। विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रम अगाडि बढाएका छन्। राजधानी काठमाडौंबाट करिब पाँच घण्टाको यात्रा गरी सहजै झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटनको लागि यो स्थान मुख्य गन्तव्यका रूपमा विकसित हुँदैछ।
पर्यटकका लागि प्रवेश शुल्क स्वदेशीको लागि ५० रुपैयाँ र विदेशीको लागि १०० रुपैयाँ तोकिएको छ। क्यानोनिङ गर्न चाहने स्वदेशीले १०० रुपैयाँ र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जनासम्म आगन्तुक आउने गरेका छन् भने सार्वजनिक बिदा र शनिबारको दिन यो संख्या ४ सय नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारीले जानकारी दिए ।
उनका अनुसार नयाँ वर्ष जस्ता विशेष अवसरमा झरनामा एकै दिनमा १ हजार ५ सयभन्दा बढी आगन्तुक पुग्ने गरेका छन्। झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले संयुक्त लगानीमा संरचनात्मक पूर्वाधारहरू निर्माण गरिरहेका छन्। हालसम्म कालोपत्रे सडक, ढुंगाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर र पौडी पोखरी निर्माण भइसकेका छन् भने तीनवटा सटर र होमस्टे सञ्चालनको तयारी भइरहेको छ।
आगामी दिनमा झरना क्षेत्रमा जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना समेत बनाइएको छ। सामाजिक सञ्जाल-जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राम-मार्फत जलवीरे झरनाको चर्चा तीव्र गतिमा फैलिएको छ, जसले गर्दा तराई क्षेत्र मात्र नभई भारतका विभिन्न भागहरूबाट समेत पर्यटकहरू आकर्षित हुने गरेका छन्।
“यो झरना अत्यन्त सुन्दर छ। यस्तो प्राकृतिक सौन्दर्य भारतमा बिरलै पाइन्छ,”भारतीय पर्यटक जान्ह्वी वर्माले भनिन् । नेपालकै काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखा लगायतका स्थानहरूबाट पनि उल्लेखनीय संख्यामा पर्यटक आउने गरेका छन्।
चितवनको गर्मी मौसममा शीतलता प्रदान गर्ने जलवीरे झरनाले केवल पर्यटकीय विकासमा मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न थालेको छ। संरक्षण र योजनाबद्ध विकासलाई प्राथमिकता दिइएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका छैन।
प्रतिक्रिया दिनुहोस्