काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगलाई राष्ट्रको मेरुदण्डको रूपमा चित्रण गर्दै यसको तीव्र विस्तार अपरिहार्य भएको बताएका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले हाल देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान घट्दै गएको उल्लेख गरे। “पहिले १५ प्रतिशत योगदान दिने उद्योग क्षेत्र अहिले घटेर झण्डै ५ प्रतिशतमा सीमित छ,” उनले भने, “यसलाई बढाउन राज्यको सक्रियता र नीति आवश्यक छ।”
उनका अनुसार उद्योग क्षेत्रले रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने र समग्र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने क्षमता राख्दछ। उनले भने, “राज्यले उद्योग स्थापनामा जोड दिनु जरुरी छ। दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन र आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गर्नु आजको आवश्यकता हो।”
अध्यक्ष पाण्डेले नेपाल सरकारसँगको सहकार्यमा परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी पनि गराए। यस अभियानअन्तर्गत आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्य लिइएको छ।
नेपाल सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका ल्याएर अभियानलाई सहयोग पुर्याएको र यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ।
अध्यक्ष पाण्डेले उद्योग क्षेत्रको समस्याको समाधानका लागि नेपाल सरकारबाट थप नीतिगत व्यवस्था आवश्यक रहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्