विकास कुनैपनि नाममा अवरोध हुनु हुँदैन: सांसद भण्डारी


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका काम कुनै पनि नाममा अवरोध हुनु नहुने स्पष्ट पारेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद भण्डारीले कानूनी अल्झनको नाममा जनताले सधैँ दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखेका हुन् ।

“विकास कुनैपनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त रु मौजुदा कानूनको कारणले जनताले निरन्तर दुःख पाउने अवस्था अब स्वीकार्य हुँदैन,” उनले भने “कुनैपनि कानूनी अल्झनको नाममा विकास अवरुद्ध गर्ने अभ्यास अन्त्य गर्नुपर्छ ।”

उनले नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याइनु पर्नेमा जोड दिए ।

“काम नगर्ने ठेकेदारलाई अन द स्पोट कानूनको दायरामा ल्याउने व्यवस्था गरौँ,” उनले भने “स्थानीय तहमा हुने अवरोधलाई निषेध गर्ने अवस्था बनाउनु जरुरी छ ।”

सांसद भण्डारीले विकासमा अवरोध गर्ने राजनीतिक कार्यकर्तालाई पनि संरक्षण गर्न नहुने बताए । “कानूनको शासन लागू गर्नुपर्छ, कार्यकर्ताले चाहे जस्तो गरे पनि हुने अवस्था अब अन्त्य गर्नुपर्छ,” उनले भने ।