नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः सांसद गैरे


काठमाडाैँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरेका हुन् ।

उनले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नती गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराए ।

उनले चक्रपथ निर्माणलाई शुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले वसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गरे ।

यदी चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा वसुन्धरा क्षेत्रको तीनसय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरू स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने धराणा राखे ।

सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम गर्न आग्रह गरे ।