काठमाडौँ । नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संसदमा छलफल भइरहेका बेला नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सबै विमानस्थल तथा ग्राउण्ड ह्यान्डलिङ सेवाको सञ्चालन नेपाल हवाई सेवा प्राधिकरणकै व्यवस्थापनमा राखिनुपर्ने धारणा राखेकी छन्।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद सुवेदीले निजी क्षेत्र नाफामुखी हुने भएकाले घाटामा रहेका वा दुर्गमस्थलका विमानस्थलहरू उपेक्षित हुने सम्भावना औंल्याइन्। उनले भनिन्, “नाफामा रहेका विमानस्थलमा मात्र निजी क्षेत्रको रुचि देखिन्छ, तर दुर्गम र घाटामा रहेका विमानस्थलहरू उपेक्षित बन्न सक्छन्।”
सांसद सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने ग्राउण्ड ह्यान्डलिङ सेवासम्बन्धी विधेयकको दफा १६ मा अस्पष्टता रहेको भन्दै त्यसलाई स्पष्ट पार्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरण आफैंले सञ्चालन नगर्ने भए पनि खुला प्रतिस्पर्धाबाट दिने र त्यसको गम्भीरताका साथ सुपरिवेक्षण हुने प्रावधान विधेयकमा समावेश हुनुपर्छ।
उनले नियामक र सेवाप्रदायक संस्था छुट्ट्याउने विषयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिफारिसअनुसार सरकारले विधेयक अघि बढाएको उल्लेख गर्दै सो सन्दर्भमा समेत प्रष्ट र सुदृढ कानुनी व्यवस्था आवश्यक भएको बताइन्।
प्रतिक्रिया दिनुहोस्