काठमाडाैँ । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ ।
सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औं दिन भएको बताए ।
उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरू कसरी अघि बढाउने, छानविनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिए । समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम सुरू गरेको बताए ।
आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताए ।
उनले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताए । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्