काठमाडाैँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राखेकी हुन्।
मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकुल हस्तक्षेप गर्नसक्ने उनको भनाइ छ । उनले नागरिकले सूचना पाउने संवैधानकि अधिकारलाई मध्यनजर गरेर मिडिया काउन्सिल विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले सञ्चार क्षेत्र स्वतन्त्र र निश्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने पनि धारणा राखिन्। उनले सञ्चार क्षेत्रको नियमनको नाममा प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने खालको व्यवस्था हुन नहुने बताइन् । सांसद भट्टराईले नेपाल पत्रकार महासंघलाई पनि विधेयकको प्रक्रियामा जोड्नुपर्ने धारणा राखिन्।
“नागरिकले सूचना पाउने हकलाई मध्यनजर गरेर यो विधेयक अघि बढाउनुपर्छ । स्वनियमलाई संस्थागत गर्दै नियमन गर्ने संयन्त्र विकास गर्न खोजेको छ । जबसम्म मिउिडया निश्पक्ष हुदैन हामीले लोकतन्त्रको व्यख्या गर्न सक्दैनौं । हामीले एउटा संस्थालाई अर्कोमा रुपान्तरण मात्र होइन फक तरिकाले अघि बढ्नुपर्छ,” उनले भनिन् ।
सरकारले पत्रकारिताको क्षेत्रमा भएका प्रविधि र परिवर्तनलाई आत्मसात गर्दै प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने उद्देश्यसहित विधेयक अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्