सातै प्रदेशमा रेबिज र सर्पदंशविरुद्धको औषधि आपूर्ति, दुई महिनाभित्र आपूर्ति चार गुणा बढाइने


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप तथा सर्पदंश उपचारमा प्रयोग हुने भेनम औषधि आपूर्ति गरेको छ ।

पछिल्लो समय यी दुवै उपचार सामग्रीको अभावबारे सार्वजनिक रूपमा चासो बढेसँगै मन्त्रालयले आपूर्ति प्रक्रिया तीव्र पारेको हो ।

विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार यसअघि नै खरिद प्रक्रिया सम्पन्न भइसकेका औषधिहरू हाल प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य संस्थामा वितरणका लागि सम्बन्धित आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए ।

रेबिज र सर्पदंशको उपचारमा खोप तथा औषधिको अभाव भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तुरुन्त आपूर्ति व्यवस्थापन गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

उनले आपूर्ति प्रक्रियामा गति ल्याई भावी दिनमा अभाव नहोस् भन्ने उद्देश्यले सम्पूर्ण उपायहरू अवलम्बन गर्न निर्देशनसमेत दिएका थिए ।

विभागका अनुसार हालसम्म ५१ हजार १ सय ८० भायल रेबिजविरुद्धको खोप विभिन्न प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइएको छ । तीमध्ये सबैभन्दा धेरै खोप बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ, जहाँ १० हजार ८० भायल रेबिजविरुद्धको खोप र एक हजार भायल सर्पदंशविरुद्धको भेनम उपलब्ध गराइएको छ ।

यस्तै, सर्पदंशका बढी समस्या देखिने मधेश प्रदेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा धेरै-२ हजार ५ सय भायल-र रेबिजविरुद्धको करिब ५ हजार भायल खोप पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रवक्ताका अनुसार माग र समस्या अनुसार अन्य प्रदेशहरूमा पनि खोप तथा औषधिको आपूर्ति गरिएको छ । विभागले हाल गरिएको आपूर्तिसँगै आगामी दुई महिनाभित्र हालको तुलनामा चार गुणासम्म बढी खोप र भेनम आपूर्ति गरिने व्यवस्था मिलाइएको जनाएको छ ।