भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्‍योः महामन्त्री शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई तीनै तहको सरकारले अपनत्व लिने गरि थप समृद्ध बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले विधेयकलाई संघीयताको मर्म र तीनै तह सरकारबीचको समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

उनले भूमिसम्बन्धी विधेयक संशोधनको आवश्यकता अपरीहार्य भएको भएपनि तीन तहको सरकारले अपनत्व नलिँदा कार्यान्वयनमा समस्या आउने भन्दै गम्भीर बन्नुपर्ने बताए ।

भूमि सम्बन्धी नीतिगत अधिकार प्रदेश सरकारलाई भएपनि मूल कानून संघीय संसदले निर्माण गर्ने प्रावधान रहेको उल्लेख गर्दै उन प्रदेश सरकारलाई कानूनप्रति उत्तरदायी र संलग्न गराउन नसके कार्यान्वयनमा समस्या आउनसक्ने बताए ।

भूमिसम्बन्धी विगतमा सर्वोच्च अदालतबाट भएका आदेशहरूप्रति ध्यान दिँदै भोलिको दिनमा कुनैपनि ठाउँबाट प्रश्न नउठ्ने गरी विधेयक निर्माण गर्नुपर्नेमा उनको जोड छ ।