काठमाडौँ । नुवाकोटको बेलकोट नगरपालिकाका राजकुमार ढुङ्गानाले गत वर्ष चार रोपनी जमिनमा कोदो खेती गरी दुई लाख ४८ हजार रुपैयाँ आम्दानी गरे।
कुनै समय ‘गरिबको खाना’ भनी उपेक्षित कोदो अहिले स्वास्थ्यप्रतिको बढ्दो सचेतनासँगै पुनः चर्चामा आउन थालेको छ। मधुमेह, मोटोपना र पाचनसम्बन्धी समस्या भएका बिरामीहरूले कोदोलाई ‘सुपरफुड’ का रूपमा आफ्नो आहारमा समावेश गर्न थालेका छन्।
ढुङ्गानाका अनुसार पहिले कोदो खेतीलाई खासै महत्त्व दिइँदैनथ्यो। तर, अहिले बजार माग र स्वास्थ्य लाभ बढेकाले छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि धेरै किसान यसतर्फ आकर्षित भएका छन्। गाउँमा ढुङ्गाना जस्ता कैयौँ किसान कोदोको बढ्दो मागसँगै यसको खेतीतर्फ आकर्षित भएका छन्।
स्वास्थ्य र पोषणका दृष्टिले कोदो अत्यन्तै लाभदायक अन्न हो। यसमा प्रशस्त मात्रामा प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शारीरिक रोगसँग लड्न सहयोग गर्छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठका अनुसार कोदो खेती ग्रामीण भेगमा वैकल्पिक आयको स्रोत बन्न थालेको छ भने यसको उत्पादन र बजार दुवै बढिरहेको छ।
उनले भने, “सरकार र विभिन्न गैरसरकारी संस्थाले पनि कोदो खेती प्रवर्द्धनमा जोड दिएका छन्। विशेषगरी पहाडी र तराईका धेरै ठाउँमा जैविक खेती र आधुनिक प्रविधिसँग जोडिएको कोदो उत्पादन विस्तार भइरहेको छ।”
नेपालका बजारमा कोदोबाट बनेका रोटी, खीर, झोललगायतका परिकार लोकप्रिय हुँदै गएका छन्। उपभोक्तामा प्राकृतिक र स्वास्थ्यकर खानाको खोजी बढेपछि कोदोले नेपाली भान्सामा पुनः आफ्नो स्थान पक्का गरेको छ। कृषि विज्ञहरूले पनि कोदोमा रहेको पोषण तत्वले दीर्घकालीन स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
वरिष्ठ कृषि वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले कोदोजन्य बालीलाई खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरणीय दृष्ट्रिकोणले अत्यन्तै महत्त्वपूर्ण मानेको बताएका छन्।
उनका अनुसार कोदोजन्य बाली अन्य अन्नबालीको तुलनामा कम लगानीमा उत्पादन गर्न सकिने, रोग र कीरा प्रतिरोधी क्षमता उच्च भएको तथा सबै उमेर समूहका मानिसले उपभोग गर्न सक्ने भएकाले यसको खेतीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
आधुनिक जीवनशैलीबाट बढ्दो स्वास्थ्य समस्या र रोगहरूको समाधानका लागि कोदो एक सन्तुलित र प्रभावकारी विकल्प बनेको छ। यसरी, कुनै समय उपेक्षित र हेपिएको कोदो आज नेपाली आहारमा मात्र होइन, किसानहरूको आम्दानीमा पनि नयाँ उज्यालो बनेर फर्किएको छ।
उत्पादन र आयातबिचको अन्तर
नेपालमा कोदो खेतीमा केही वर्षदेखि उतारचढाव र बजार मागबीचको द्वन्द्व अझै जारी छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार कोदो उत्पादनमा निरन्तर वृद्धि भए तापनि खेती गरिने जमिन घट्दो क्रममा छ भने आयात भने उच्च दरमा बढ्दो छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा दुई लाख ६२ हजार पाँच सय ४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो र सो वर्ष तीन लाख २० हजार नौ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। त्यसपछिका वर्षहरूमा उत्पादन क्रमशः बढ्दै गई २०७९/८० मा तीन लाख ४५ हजार पाँच सय ७० मेट्रिक टन र २०८०/८१ मा तीन लाख ५८ हजार चार सय ४७ मेट्रिक टन पुगेको छ।
तर, खेती क्षेत्रफलमा भने कमी देखिन्छ। २०७६/७७ मा दुई लाख ६२ हजार पाँच सय ४७ हेक्टर रहेको खेती क्षेत्रफल २०७९/८० मा घटेर दुई लाख २७ हजार नौ सय ३५ हेक्टर पुगेको छ। यसले कृषि उत्पादनमा प्रविधि र दक्षता बढाएको देखाए पनि खेतीयोग्य जमिन घट्नु चिन्ताको विषय बनेको छ।
यसैबीच, भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले आर्थिक वर्ष २०८१/८२ मा मात्र ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १५ हजार तीन सय १५.९० मेट्रिक टन कोदो आयात गरेको छ। यो रकम अघिल्ला वर्षहरूमा पनि उच्च रहँदै आएको थियो। २०७७/७८ मा ७८ करोड ३७ लाख रुपैयाँ बराबरको २३ हजार तीन सय ९१ मेट्रिक टन र २०७८/७९ मा ७० करोड २१ लाख रुपैयाँ बराबरको २० हजार नौ सय १८ मेट्रिक टन कोदो आयात गरिएको थियो।
आयात गरिएका कोदोमध्ये अधिकांश भारतबाट ल्याइएको छ। आर्थिक वर्ष २०८१/८२ मा भारतबाट मात्र ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १५ हजार तीन सय १५ मेट्रिक टन कोदो नेपाल भित्रिएको छ। चीनबाट पनि थोरै मात्रामा कोदो आयात भएको तथ्याङ्कले देखाएको छ।
आयात बढ्दै गए पनि कोदो उत्पादनमा देखिएको वृद्धि र खेती क्षेत्रफलमा आएको कमीले नेपालको कृषि क्षेत्रमा विशेष चुनौतीको सङ्केत गर्छ। माग बढ्दा उत्पादन कम हुँदा बजारमा विदेशी आयातमा निर्भरता बढ्ने क्रम जारी छ। कृषि विज्ञ छवि पौडेलले सरकारले धान र गहुँ जस्ता बालीलाई प्राथमिकता दिँदा कोदोजस्ता परम्परागत बालीको उत्पादन घट्दै गएको बताएका छन्। उनका अनुसार पछिल्लो समय बजारमा माग बढेसँगै कोदो उत्पादन केही बढेको भए पनि अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन।
‘कोदो बालीका लागि ३० प्रतिशत पानी भए पनि पर्याप्त हुन्छ,’ पौडेलले भने, ‘७० प्रतिशत पानी नपरे पनि यसको उत्पादनमा खासै असर पर्दैन।’ उनले अहिले चामलभन्दा कोदोको पिठोले राम्रो मूल्य पाउन थालेको उल्लेख गर्दै खेती गर्नेलाई अब बेफाइदा हुने अवस्था नरहेको बताए। तर, किसानहरूले सिँचाइ अभाव हुँदा मात्रै विकल्पका रूपमा कोदो लगाउने प्रवृत्ति राखेकाले यसको व्यावसायिक विस्तार सुस्त भइरहेको उनको भनाइ छ।
प्रवर्द्धनमा सरकारको साथ
नेपालमा परापूर्वकालदेखि खेती हुँदै आएको कोदो तथा कोदोजन्य बाली पछिल्ला वर्षहरूमा नयाँ पहिचान बनाउँदै अघि बढिरहेका छन्। विगतमा ‘कुअन्न’ भनी हेपिएको कोदो आज विश्वव्यापी रूपमा ‘स्मार्ट अन्न’ का रूपमा स्वीकारिन थालेको छ। पोषणयुक्त, रोग प्रतिरोधात्मक र जलवायु सहनशील बालीका रूपमा कोदोको महत्त्व बढ्दै जाँदा नेपालमा पनि यसको माग, उत्पादन र प्रवर्द्धनको गति तीव्र भएको छ।
सन् २०२३ लाई संयुक्त राष्ट्रसङ्घले कोदोजन्य बाली वर्ष घोषणा गरी भव्य रूपमा मनाइसकेको छ। खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले नेपाललाई कोदो प्रवर्द्धनका लागि प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको छ।
विश्वमै कोदोप्रतिको चासो बढिरहेको सन्दर्भमा नेपालमा पनि पछिल्ला वर्षहरूमा यसबारे सोच्न थालिएको हो। पोषणका हिसाबले कोदो फाइबर, आइरन, प्रोटिन लगायत महत्त्वपूर्ण तत्वले भरिएको अन्न हो, जसले मधुमेह, मोटोपन, पाचन समस्या र अन्य रोगमा सहयोग पुर्याउँछ।
यही सन्दर्भमा नेपालमा २०७८ सालदेखि ‘कोदो दिवस’ मनाउने अभियान सुरु गरिएको हो। भारतको सिफारिसमा कोदोजन्य बाली वर्ष मनाउन थालेपछि नेपालमा पनि यसको प्रवर्द्धनमा सशक्त पहल थालिएको हो। कोभिड महामारीकै समयमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एग्रिकल्चरल जर्नालिस्ट्सको संस्था (अनाज) को संयुक्त आयोजनामा पहिलो पटक भर्चुअल माध्यमबाट कोदो दिवस मनाइएको थियो। त्यसै क्रममा काठमाडौँको टोखामा कोदो रोपण कार्यक्रमसमेत आयोजना गरिएको थियो।
त्यसयता साउन १५ गतेलाई कोदो दिवसका रूपमा मनाउँदै आइएको थियो। तर, औपचारिक मान्यता नपाएको उक्त दिवसलाई अन्ततः सरकारले मान्यता दिएको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि हरेक वर्ष साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ।
यो निर्णयसँगै कोदोलाई संस्थागत रूपमा प्रवर्द्धन गर्न सरकारको प्रतिबद्धता देखिएको छ। धान, मकै, गहुँजस्ता मुख्य खाद्यान्न बालीहरूलाई राष्ट्रिय बाली घोषणा गरी उत्पादनमा जोड दिँदै आएका बेला कोदोलाई भने उपेक्षित राखिएको आरोप लाग्दै आएको थियो। ती बालीहरूका लागि हरेक वर्ष अर्बौँ रुपैयाँको रासायनिक मल आयात हुँदै आएको छ भने कोदो भने कम मल, कम सिँचाइमै उत्पादन गर्न सकिने बाली रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष श्रेष्ठ बताउँछन्।
कृषि मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा कोदो उत्पादन गर्न सकिने क्षमता छ। ६० मिटरदेखि तीन हजार छ सय ५० मिटर उचाइसम्म कोदो खेती सम्भव हुने भएकाले भौगोलिक हिसाबले पनि यो बाली निकै अनुकूल छ। विशेषतः कर्णाली प्रदेशमा यसको उत्पादन र सम्भावना उच्च रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले जनाएको छ।
सरकारी निर्णयसँगै कोदोको सम्भावना अझ विस्तारित हुने विश्वास लिइएको छ। किसानको आय, पोषण सुरक्षा र वातावरणीय सन्तुलनमा योगदान पुर्याउन सक्ने यो बालीलाई आवश्यक प्रविधि, बजेट र बजार सुनिश्चित गरी प्रवर्द्धन गर्न सकियो भने कोदो नेपाली कृषि क्षेत्रको नयाँ आधार बन्न सक्छ।
जिन बैंकमा बीउको अवस्था
नेपालमा परम्परागत रूपमा खेती हुँदै आएको कोदोजन्य बालीको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका लागि राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) सक्रिय छ। केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक डा. जोशीका अनुसार हालसम्म जिन बैंकमा १० हजारभन्दा बढी कोदोजन्य बालीका बीउ सङ्कलन गरिएको छ। ती बीउहरू कुन ठाउँबाट सङ्कलन गरिएका हुन् भन्ने विवरणसहित नाम टिपोट गरी अभिलेख राखिएको छ।
उनका अनुसार पछिल्ला केही दशकयता नेपालमा पाइने विभिन्न जातका कोदोजन्य बालीहरू क्रमशः लोप हुने अवस्थामा पुगेका छन्। सन् १९८० को दशकसम्म उल्लेख्य जातीय विविधता रहे पनि अहिले तीमध्ये धेरै हराइसकेको भन्दै उनले संरक्षण र पुनः प्रवर्द्धनको खाँचो औँल्याएका छन्। अहिले जिन बैंकको प्रयोगशालामा हराउँदै गएका ती जातहरूको पहिचान र पुनःस्थापनासम्बन्धी अनुसन्धान कार्य भइरहेको छ।
डा. जोशीले आफ्नो अध्ययन ‘सात भाइ कोदे बाली (औषधीय अनाज): खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण सुरक्षाका लागि’ मा उल्लेख गरेअनुसार हाल नेपालमा १२ प्रजातिका कोदोजन्य बाली पाइन्छन्। तीमध्ये प्रमुख सात प्रजाति— कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोंगे र चिनो मानव स्वास्थ्य, पोषण, वातावरणीय सन्तुलन र व्यावसायिक सम्भावनाका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छन्। उनले यी बालीहरूलाई ‘सात भाइ कोदे बाली’ भन्दै सङ्क्षेपमा ‘काजु-कोसा-धाघो-चि’ भनेर व्याख्या गरेका छन्।

यी बालीहरूको बनोट, बोटको बनावट, बाला र दानाका विशेषताहरू फरक-फरक छन्। जस्तै, कागुनोमा एकल बाला लरक्क झुकेको देखिन्छ भने जुनेलो मकैजस्तै अग्लो र धेरै हाँगासहितको हुन्छ। कोदो सानो, कम हाँगासहितको र मुड्डीजस्तो बाला भएको हुन्छ। सामा मध्यम उचाइको भएर पनि बाला ठाडो हुने र औँलाबीच खाली ठाउँ देखिने बनोट भएको हुन्छ। धान कोदो मसिनो दाना र धेरै साहेक हाँगासहित झुकेको बाला हुने बाली रहेको जोशीले आफ्नो अध्ययनमा उल्लेख गरेका छन्। घोंगे मकैको घोंगाजस्तै लामो तर खोस्टा नभएको बाला भएको बाली हो भने चिनोमा धानजस्तै बाला भए पनि दाना केही ठूलो र पात मोटो हुने विशेषता पाइने जोशीले बताए।
उनका अनुसार यस्ता बालीहरूको संरक्षणले देशको खाद्य सुरक्षा, पोषण सुधार, वातावरणीय सन्तुलन र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुर्याउँछ। स्वदेशी बीउको संरक्षण र प्रवर्द्धनबाट विदेशी बीउमा निर्भरता घटाउन सकिने र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्न सकिने उनले बताएका छन्।
तर, यस्ता महत्त्वपूर्ण बालीहरूमा समयमै ध्यान नदिँदा कोदोजन्य बालीको करिब ५० प्रतिशत जातीय विविधता हराइसकेको तथ्य डा. जोशीले सार्वजनिक गरेका छन्। यस्तो अवस्थामा, हराउँदै गएका प्रजातिहरूको पुनःस्थापना, अनुसन्धान र प्रवर्द्धनमा राज्यले पनि विशेष चासो दिनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्