काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई समयमै पूरा गर्न तीव्रता दिन निर्देशन दिएका छन्।
बिहीबार उक्त सडकको निरीक्षणपछि मन्त्री दाहालले यो छोटो सडकले काठमाडौँसँग मकवानपुरलाई जोड्दै आर्थिक विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका हुन् ।
मन्त्री दाहालले सो सडकले मकवानपुरको कृषि उत्पादन काठमाडौँसम्म सहज रूपमा लैजान र पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, सडक विभागलाई कुनै पनि योजना तथा आयोजनामा ढिलाइ नगर्न र निर्धारित समयमा काम सम्पन्न गर्न कडा निर्देशन पनि दिएका छन्।
उनले भने, “विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धि ल्याउनुपर्छ। यो सडक आर्थिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण भएकाले यसको निर्माणमा तदारुकता आवश्यक छ।”
थानकोट–चित्लाङ् सडकलाई बहुप्रयोजनामूलक मान्दै सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले यस सडकले मकवानपुर, काठमाडौं मात्र नभई पूर्वी नेपाल, बाग्मती, मधेस र लुम्बिनी प्रदेशसँगको सम्पर्कलाई समेत बलियो बनाउने बताए। उनले सडक निर्माणमा अवरोध र ढिलाइ नगर्न आग्रह गरे।
सडक विभागका महानिर्देशक डा.बिजय जैसीले पनि निर्माण कार्यलाई छिटो अघि बढाउने प्रतिबद्धता जनाए। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार, सडक स्तरीकरणको ठेक्का लगाइसकेको र काम तिव्रगतिमा रहेको छ। अनुगमन टोलीमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवजार खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत पनि सहभागी थिए।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार, ८.५ किलोमिटर लामो यो सडक दुई प्याकेजमा बाँडेर निर्माण भइरहेको छ। यसको एक भाग काठमाडौंमा पर्दछ भने बाँकी मकवानपुर जिल्लामा पर्छ।
प्रतिक्रिया दिनुहोस्