सरकारले सातै प्रदेशमा युवाहरूका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने


काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ ।

शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरू र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताएका हुन् ।

उनकाअनुसार सरकारले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको बताए। सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य अघि बढाएको पनि बताए।

मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको जानकारी दिए। 

मन्त्री चौधरीकाअनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।