स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन्।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताएका हुन् ।

हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताए। कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताए ।

“हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ,” उनले भने ।

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए।