मर्जरको लागि रोक्का भएका सबै कम्पनीको सेयर कारोबार खुल्ने


काठमाडौं । मर्जर प्रयोजनका लागि दोस्रो बजारमा रोक्का भएका सबै कम्पनीको सेयर कारोबार खुल्ने भएको छ । आउँदो आइतबारबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको हाे ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने भएको हो ।

बोर्डले कात्तिक २४ गतेदेखि लागू गरेको निर्देशिका अनुसार अब मर्जरमा जाने संगठित संस्थाहरुले आधारभुत सेयरधनीको मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने भएको छ । कम्पनी ऐनले गरेको व्यवस्था अनुसार आधारभुत सेयरधनीहरुको सेयर कारोबार मर्जर सम्झौता भएदेखि रोक्का हुनेछ भने सर्वसाधारणको सेयर कारोबार रोक्का हुने छैन ।

विशेष व्यवस्था अनुसार निर्देशिका लागू पहिले गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनी बाहेक अन्यको सेयर कारोबार फुकुवा हुने र प्रकृया विगतको अनुसार नै अघि बढाउन सकिने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि रोक्का राख्नु पर्नेछ । बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ ।

उत्त, अवधिमा साधारण सभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुने व्यवस्था निर्देशिकाले गरेको छ ।

निर्देशिका लागू भए पछि एकीकृत कारोबार सुरु भए पछि सेयर पुनः सूचीकरण, नाम परिवर्तन लगायतका प्रकृया पुरा गर्न बढीमा १५ दिन पूर्ण रुपमा सेयर कारोबार रोक्का गर्न सकिने र सोको लागि बजारलाई निवेदन दिएर अनुमति दिनु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।