मधेशमा पानी परेपछि किसानलाई राहत, विकल्पस्वरूप छरुवा बीउ प्रयोगको तयारी


काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहेसँगै मधेश प्रदेशमा पनि वर्षा सुरू भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानदेखि मधेशसहित देशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार देशभर दिउँसो सामान्यतया बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि छ।

वर्षा सुरू भएसँगै लामो समयदेखिको खडेरीका कारण प्रभावित बनेका मधेशका किसानले केही राहत महशुस गरेका छन्। करिब डेढ महिनादेखि पर्याप्त वर्षा नभएको कारण धान रोपाइँ ठप्प थियो भने रोपिएका खेतमा चिरा देखिन थालेका थिए। इनार, ट्युबेल तथा सिँचाइ प्रणालीसमेत सुकेका कारण खेतमा धान राेप्ने सम्भव नदेखिएकाे मात्र नभइ कतिपय ठाउँमा खानेपानीसमेत टुटेको अवस्था थियो।

मधेश प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतकाे कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदिप चौधरीले हालैको वर्षाले किसानलाई राहत मिलेको जानकारी दिए। उनका अनुसार लामो समयसम्म पानी नपर्दा धान रोप्नको लागि राखिएको बीउ सुक्न थालेको थियो भने जमिनको भित्री भागसमेत सुक्खा बनेको थियो।

“अब पानी परेसँगै सुकेका नालाहरूमा पानी बग्न थालेको छ र भू-जलस्तर पनि उठेको देखिएको छ,” उनले भने। रोपाइँको लागि राखिएको बिउ सुक्न थालेपछि विकल्पस्वरूप छरुवा बीउ प्रयोग गरेर खेत रोप्ने तयारी गरिएको पनि चौधरीले जानकारी दिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजाे (साउन १८ गते) सार्वजनिक गरेको तथ्याङ्क अनुसार मधेश प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रमध्ये हालसम्म ५७.२८ प्रतिशत अर्थात् २ लाख १३ हजार ४३८ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।

देशभर भने १३ लाख ७८ हजार ९६६ हेक्टरमध्ये ११ लाख ५६ हजार ६८७ हेक्टर क्षेत्रमा धान रोपिएकाले हालसम्मको रोपाइँ प्रगति ८३.८८ प्रतिशत रहेको छ। गत वर्ष साउन २० सम्म ९६.४७ प्रतिशत रोपाइँ भइसकेको थियो।

यस वर्षको लामो खडेरीका कारण मधेश प्रदेश गम्भीर कृषि संकटमा परेको छ। असार २७ गते मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले सम्पूर्ण प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ८ गते नेपाल सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ को दफा ३२ को उपदफा १ अनुसार मधेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

उक्त ऐनको उपदफा २ अनुसार यदि तोकिएको तीन महिनाभित्र संकटको अवस्था नियन्त्रणमा नआएमा, नेपाल सरकारले सूचना प्रकाशित गरी अवधि थप गर्न सक्ने प्रावधान पनि छ।

यद्यपि अहिलेको वर्षाले किसानको मनमा आशा जगाएको छ तर पानी निरन्तर परिरहन नसके हालको रोपाइँ अभियान प्रभावकारी बन्नेमा अझै शंका कायम छ। सरकार र स्थानीय निकायहरूले तत्काल सिँचाइ, बीउबिजन, मल र प्राविधिक सहायता सहज उपलब्ध गराउन सकेमा मात्रै मधेशको धान उत्पादन संकटबाट उकासिन सक्ने विज्ञहरूकाे भनाइ छ।

Skip This