नयाँ संसद भवन समयमै सम्पन्न नहुने सांसदहरूको शंका, फिनिसिङ मात्र ५ प्रतिशत


काठमाडाैँ । सांसदहरूले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरूले यस्तो आशंका गरेका हुन् । सरकारले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ ।

तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरू गर्न बाँकी रहेको सांसदहरूले बताए ।

समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे। अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराउनु भयो । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाए ।

“पुस १६ गतेसम्मको लागि म्याद थप भएको रहेछ । अब समयमै सम्पन्न हुन्छ की हुँदैन ? अझै काम धेरै बाँकी छ । फिनिसिङको काम ढिलो हुन्छ, धेरै बाँकी छ । अब म्याद थप्ने गरी नहोस् । क्रमिक रुपले काम भइरहेको छ । तर ढिलासुस्ती छ,” उनले भने ।

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले पटक पटक म्याद थप भएपनि काम सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको बताए । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उनको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताइन्। सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै प्रश्न गरिन्।

नयाँ निर्माणाधिन संसद भवन निर्माण आयोजनाका निर्देशक सुनिलकुमार ठाकुरले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बताए। सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त गरे ।

सांसदहरूले सबैले जिम्मेवारी लिइ ताकेता गरेर भएपनि छिटो भन्दा छिटो सम्पन्न गराउने काममा लाग्नुपर्ने बताए ।

Skip This