काठमाडाैँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भुमिकामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भुमिका खेलेको उनको आरोप छ । उनले भिजिट भिसा आफैँमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताए ।
उनले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाए ।उनले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गरे ।
“समस्या भिजिट भिसाको होइन । समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन् । श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरुले मानिसलाई विदेशमा पठाउने गरेका छन् । जसमा इमिग्रेसन पनि जोडियो जुन गृह मन्त्रालयमातहत रहेको छ । यसमा कमि कमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले यसको विरोध गर्दा व्यवस्था र संविधान विरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ,” उनले भने ।
उनले भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्