काठमाडाैँ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबले जित निकाल्दै एन्फा यु–१६ युथ लिगको शिर्ष स्थानमा उक्लिँदा अर्को विभागीय टोली एपिएफले पनि सफलता पाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लवमाथि ३–१ को जित निकाल्दा एपिएफले प्लानिङ ब्वाइजलाई ३–० ले हरायो ।
जितसँगै पुलिस ११ खेलबाट २८ अंक जोड्दै शिर्ष स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ । पुलिसको जितमा समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले गोल फर्काए ।
खेलको २१ औं मिनेटमा समीरको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ९ मिनेटपछि नै मेसीले टोलीको अग्रता दोब्बर बनाए । यससँगै पहिलो हाफमा पुलिस २– ० ले अगाडि रह्यो । दोस्रो हाफमा आर्मी खेलमा फर्कने प्रयास ग¥यो । आर्मीले गोल फर्काए पनि पुलिसले अर्को गोल थप्यो ।
जोयलले ७६औं मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, एक मिनेटपछि नै रोनीले गोल गर्दै पुलिसलाई ३–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र पुलिसले सहज जित निकाल्यो ।सोमबार नै सम्पन्न अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्यो । आदर्श मेचेको उत्कृष्ट प्रदर्शनप्रेरित एपिएफले युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडमाथि सहज जित निकालेको हो । जितसँगै एपिएफ ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका साथ १३औं स्थानमा छ ।
एन्फा कम्प्लेक्स मैदानमा एपिएफको जितमा आदर्शले दुई तथा विपिन छन्त्यालले एक गोल गरे । खेलको १४औं मिनेटमा आदर्शको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३७औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा एपिएफ २–० ले अगाडि रह्यो ।
७८औं मिनेटमा प्लानिङ ब्वाइज १० खेलाडीमा समेटिएको थियो । लिलाराज पोखरेलले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि प्लानिङ ब्वाइज एक खेलाडीबिना खेल्नु परेको हो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विपिनले एपिएफका लागि तेस्रो गोल गरे । यससँगै एपिएफले सहज जित निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्