काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका विविध गतिविधिहरूका साथै आन्तरिक तथा सांगठनिक विषयहरूमा विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ।
बैठकमा संसदीय दलको रुपन्देही बैठक, रुपन्देही–३ उपनिर्वाचनको तयारी, सुदूरपश्चिम समस्या समाधान कार्यदलको प्रगति, तथा पार्टी विधानको व्याख्या (अनुशासन आयोग प्रयोजनका लागि) अनुमोदनलगायतका विषयमा निर्णय गरिने प्रवक्ता मनिषा झाले जानकारी दिए ।
साथै, रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको विषय र प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीबाट नाम हटाउनेबारे आएको निवेदन पनि बैठकको एजेन्डामा समावेश गरिएको छ।
पार्टीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्न लागेको ‘फ्युचर लिडर्स समिट’ बारे समेत बैठकमा छलफल गरिने प्रवक्ता झाले जानकारी दिए ।
त्यस्तै, बैठकमा समावेश विविध विषयहरूमा भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, केन्द्रीय समिति बैठक तथा प्रस्तावित एजेन्डा, रणनीतिक समूहहरूको गठन, विभाग प्रमुखहरूको नियुक्ति, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न दबाब अभियान र सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक प्रतिशोधबारे जनहस्ताक्षर अभियानलाई प्रभावकारी बनाउने प्रस्ताव पनि समावेश छन्।
बैठकले यी सबै प्रस्तावित विषयमा आवश्यक निर्णय गर्ने र आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्