रजत जयन्ती भव्य बनाउँछु भनेका एनसेल सिइओको एकाएक राजीनामा, विवादका बेला सम्हालेका थिए कम्पनी


काठमाडौँ । बढ्दो नाफादरका बिच निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् ।

कम्पनीको रजत जयन्ती (२५ औं वर्ष) मनाउँदासम्म एनसेललाई थप नयाँ उचाईमा लैजाने दाबी गर्दै आएका सिइओ जाब्बोर कायुमोभले ‘पारिवारिक कारण’ देखाउँदै एकाएक राजीनामा दिएका हुन् । एनसेलले आफ्नो स्थापनाको रजत जयन्ती मनाउँने समय नजिकिँदै गर्दा लाइसेन्स नविकरणकाे विषय पनि अन्याैल नै छ।

एनसेलको आम्दानी पछिल्ला केही वर्षदेखि लगातार घटिरहेको छ । आर्थिक वर्ष २०७९/८० मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा झर्‍यो ।

आर्थिक वर्ष २०८१/८२ मा पनि यसको आम्दानी अझै घटेर ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ पुग्ने अनुमान रहेको इक्रा नेपालले उल्लेख गरेको छ । सन् २०७९/८० तिर एनसेलको मोबाइल सेवाबाट आउने आम्दानीमा ६१ प्रतिशत बजार हिस्सा थियो, जुन अहिले घटेर ५३ प्रतिशतमा झरेको छ ।

मोबाइल सेवामा कल, डेटा प्रयोगबाट आउने प्रति ग्राहक आम्दानीे घट्दै जाँदा एनसेल प्रभावित भएको हो । इक्रा नेपालका अनुसार पहिलेको स्वामित्व परिवर्तनमा लागेको कर विवादका कारण एनसेलमा ८६ अर्ब रुपैयाँ बराबरको ठुलो आकस्मिक दायित्व छ ।

एनसेल लामो समयदेखि सेयर खरिद–बिक्री र कर विवादमा पर्दै आएको छ भने सन् २०२९ पछि लाइसेन्सबारे अन्योल छ ।

एनसेलको प्रारम्भिक २५ वर्षको लाइसेन्स अवधि सेप्टेम्बर २०२९ मा समाप्त हुँदैछ । लाइसेन्ससम्बन्धी अन्योलकै कारण तत्काल फाइभजीमा लगानी गर्न नसकिने कायुमोभले एक कार्यक्रममा बताएका थिए ।

अप्ठेरो अवस्थाकैबिच एनसेलका सिइओ कायुमोभले राजीनामा दिएका हुन् । उनले अनौपचारिक रूपमा एनसेल स्थापनाको रजत वर्षलाई भव्य बनाउने र कम्पनीलाई पनि एउटा उचाईमा पुर्‍याउने दाबी गर्दै आएका थिए ।

२०८० वैशाख २७ देखि सिइओ तथा प्रबन्धसञ्चालक बनेका कायुमोभले राजीनामा दिएपछि सइद एमडी एनामुल कबिरलाई कायममुकायम सिइओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

स्वामित्व सेयर खरिदबिक्री प्रकृयाको विवादका बेला दुई वर्षअघि कायुमोभ एनसेलमा सिइओ बनेर भित्रिएका थिए । २०५८ सालमा दूरसञ्चार सेवाका क्षेत्रमा भित्रिएको निजी कम्पनी एनसेल प्रारम्भिक कालदेखि नै विवादमा मुछिँदै आएको छ ।

मलेसियाको टेलिकम कम्पनी आजियाटा एनसेलबाट बाहिरिने निर्णयसँगै तत्कालीन एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्को ठाउँमा जब्बोर आएका थिए ।

मलेसियाको टेलिकम कम्पनी आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरी नेपालबाट बाहिरिएको थियो ।

सतिशलाल आचार्यका नाममा रहेको ‘स्पेक्ट्रलाइट यूके’ कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको सार्वजनिक भएको थियो । ‘स्पेक्ट्रलाइटले जम्मा ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच गरेको सार्वजनिक भएपछि हल्लाखल्ला भएको थियो । जबकि ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै यसलाई १ खर्ब ४३ अर्ब तिरेको थियो ।

कर छल्ने मनासयका साथ नेपालबाहिरै ऐनसेलको सेयर किनबेच भएको भन्दै चर्को विरोध समेत भएको थियो । विवादकै आसपासमा जाब्बोर एनसेल भित्रिएका थिए ।

तत्कालीन समयमा एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कम्पनीका सिइओ जाब्बोरको भूमिका पनि विवादित देखिएको भन्दै आलोचना भएको थियो ।

मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर नेपालीमूलका व्यापारी सतिशलाल आचार्यको कम्पनीले किनेको छ ।

व्यापारी आचार्यसँग जाब्बोरको पुरानो सम्बन्ध रहेको र एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियामा पनि भूमिका खेलाउन उनी सिइओ बनेको आरोप लागेको थियो ।

जाब्बोरले टेलिया सोनेरा, हालको टेलिया कम्पनीमा काम गरेका थिए । यसले व्यापारी आचार्यसँग जब्बोरको पुरानो सम्बन्ध रहेको र ऐनसेलको सेयर खरिदबिक्रीमा किनबेचमा चलखेल भएको आरोप लागेको थियो ।

जाब्बोरले आचार्यको समेत लगानी रहेको स्मार्ट टेलिकममा सन् २०१३ देखि सन् २०१६ सम्म साढे तीन वर्ष स्मार्ट टेलिकमको सीओओ र सिइओको रूपमा काम गरेका थिए । कायुमोभले पछिल्लो समय आम्दानी सङ्कुचन हुँदै जाँदा दूरसञ्चार क्षेत्र सङ्कटतर्फ धकेलिएको सार्वजनिक रूपमा बोल्दै आएका थिए ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) को स्थापना २०६१ साल भदौ १६ गते (सन् २००४ सेप्टेम्बर २) मा भएको हो। यो नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो, जसले सार्वजनिक जिएसएम सेवा सुरु गरेको थियो। सुरुवातमा कम्पनीको नाम स्पाइस नेपाल प्राइभेट लिमिटेड थियो र यसले नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रिपेड तथा पोस्टपेड सिम वितरणका लागि जिएसएम सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो।

कम्पनीले आफ्नो व्यावसायिक सेवा २०६२ असोज १ गते (सन् २००५ सेप्टेम्बर) मा “मेरो मोबाइल” ब्रान्ड नाममा काठमाडौं उपत्यकाबाट सुरु गरेको थियो। पछि २०६५ साल असोजमा (सन् २००८ अक्टोबर) स्विडेनको टेलिया सोनेरा कम्पनीले सेयर खरिद गरेपछि कम्पनीको नाम स्पाइस नेपालबाट परिवर्तन गरी “एनसेल” राखिएको थियो।

प्रविधिमा निरन्तर नवप्रवर्तन गर्दै, एनसेलले २०६७ भदौ ३१ मा थ्रीजी सेवा सुरु गर्‍यो भने २०७४ जेठ १८ मा फोरजी सेवा उपलब्ध गरायो। यसै साता मात्र एनसेलले भिओएलटीई रोमिङ सेवा सुरू गर्ने पहिलो टेलिकम कम्पनी पनि बनेकाे छ।

हाल एनसेलले देशका सबै ७७ जिल्लामा सेवा विस्तार गरिसकेको छ र यसको फोरजी सेवा नेपालको करिब ९० प्रतिशत जनसंख्यालाई समेटिसकेको तथ्यांक छ। ग्राहक संख्याको हिसाबले एनसेलसँग लगभग १ करोड ३० लाखदेखि १ करोड ६० लाखसम्म सक्रिय प्रयोगकर्ता छन्। घट्दो नाफाका बीच पनि एनसेल राजस्व बजार हिस्साको हिसाबले नेपालको अग्रणी दूरसञ्चार कम्पनीकाे स्थान भने कायम छ ।

नेपालमा फाइभजी सेवा सुरु गर्ने विषयमा भने सरकारी नीति र स्पेक्ट्रम बाँडफाँडमा भएको ढिलाइका कारण हालसम्म कुनै ठोस प्रगति भएको छैन। एनसेल र नेपाल टेलिकम दुवैले सरकारको सहजीकरण विना फाइभजी सेवा सुरु गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेका छन्।