बर्षातको बेचाला! सुक्दैछन्, खोलानाला


यतिबेला सामान्यतः मध्य वर्षाको समय हो। देशभरि मनसुन पूर्वरूपमा सक्रिय भई पानी परिरहनु पर्ने अवस्था हो। तर यो वर्ष मूलतः नेपालमा औसतभन्दा कम वर्षात भएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सरदरभन्दा ३५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुने बताए पनि साउनको मध्, मनसुन सिजनको आधाभन्दा बढी अवधि बितिसक्दा, अपेक्षित कुल मौसमी वर्षाको केवल ४२.९ प्रतिशत  मात्र रेकर्ड भएको छ, जबकि औसत मान्नका लागि ६० प्रतिशत वर्षा भइसक्नुपर्ने थियो। यसले समग्रमा ‘सरदरभन्दा कम’ वर्षा भएको स्पष्ट संकेत गर्छ, जुन प्रारम्भिक ‘सरदरभन्दा बढी’ को पूर्वानुमानभन्दा निकै कम हो। 

सबैभन्दा उल्लेख गर्नैपर्ने पक्ष भनेको मौसम विभागले मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको उल्लेख भए पनि वास्तविक अवस्थामा तराईका कोशी, मधेश र लुम्बिनी प्रदेशका मुख्य तराई क्षेत्रहरूमा गम्भीर खडेरीको अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आफ्नो प्रारम्भिक पूर्वानुमानलाई परिमार्जन गर्दै यी क्षेत्रहरूमा ‘औसतभन्दा कम’ वर्षा हुने सम्भावना रहेको बताएको छ।

देशको अन्न भण्डार मानिने तराई/मधेशमा अहिले देखिएको खडेरीको अवस्थाले केबल तत्कालका लागि कृषि उत्पादनमा मात्र असर पार्दैन, भविष्यमा खाद्य संकट गहिरिनेछ। एकातिर यो अवस्था छ भने सुदूरपश्चिमी नेपाल र  मध्य तथा पश्चिमी नेपालमा उच्च अनुपातको वर्षात रेकर्ड भइरहेको छ। वर्षा ऋतु असोजको मध्यसम्म रहने भएकाले बाढी पहिरोजन्य मौसमी प्रकोपहरूको अनुपात कस्तो रहने हो र त्यसले के कस्तो क्षति पुर्‍याउने हो अहिले नै भन्न गाह्रो छ।

यद्यपि   यसपटकको मनसुनले जलवायु परिवर्तनको असर र प्रभावका संकेतहरू भने देखाएको छ। नेपालसँग लगभग सीमा जोडिएको उत्तराखण्डको उत्तरकाशीमा एकीत्रित बादल घोप्टे वर्षा हुँदा व्यापक धनजनको क्षति भएको छ। हालैमात्र तिब्बततर्फबाट हिमताल फुट्दा नेपालको रसुवामा व्यापक नोक्सानी पुर्‍यायो। 

नेपालमा जलवायु परिवर्तनको विषय केबल वन तथा वातावरण मन्त्रालयका सचिव, सहसचिव र त्यसमातहतका विभागका प्रमुखहरूको हाते झोला बोकेर विदेशका कन्फ्रेन्सहरूमा ताँती लगाएर जाने अनि ‘यास-यास’ भनेर मुन्टो हल्लाउँदै फर्कने उस्तै परे राष्ट्रिय प्रगति भनेर आमनागरिकले नबुझ्ने अंग्रेजी भाषामा ग्लसी पेपरमा केही थान प्रतिवेदन छापेर देखाउने मेलोबाहेक अरु केही नबनेको देखिँदै आएको छ।

यस कुराको पुष्टि केहीअघि राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वे-२०२२ ले पनि गर्छ। सातै प्रदेशका ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि  ६,५२० घरपरिवारमाझ २०७९/८० मा  गरिएको सर्वेक्षणअनुसार  नेपालका धेरै मानिसलाई जलवायु परिवर्तनबारे थाहा छैन । कुल घरपरिवारमध्ये करिब ३६  प्रतिशतलाई मात्र यो विषयमा जानकारी थियो । 

विशेषगरी हिमाल क्षेत्रका ७०.९ प्रतिशत, तराईमा ६४.७ प्रतिशत र पहाडमा ६२.६ प्रतिशत घरपरिवारलाई जलवायु परिवर्तनबारे थाहै छैन ।  सुदूरपश्चिमको पहाडी क्षेत्रमा त यो सङ्ख्या झन् धेरै अर्थात ९१ प्रतिशत थियो ।

लैङ्गिक आधारमा हेर्दा पनि धेरैजसो मानिसहरूमा यस विषयको जानकारी नभएको देखिन्छ । सर्वेक्षणमा सहभागीमध्ये  ६१.३ प्रतिशत पुरुष र ७४ प्रतिशत महिला उत्तरदाताहरूले आफूलाई जलवायु परिवर्तनका असरबारे थाहा नभएको बताएका थिए । सहरी र ग्रामीण क्षेत्रको तुलना गर्दा  ग्रामीण क्षेत्रमा जलवायु परिवर्तनबारे थाहा नहुनेको सङ्ख्या धेरै छ । शहरी क्षेत्रका ५७.२ प्रतिशत  घरपरिवारलाई जानकारी थिएन भने ग्रामीण क्षेत्रमा यो अनुपात ७३.७ प्रतिशत  रहेको छ ।

जबकी अधिकांश नेपालीहरूले यसको गम्भीर असर र प्रभाव झेल्दै आएका छन्। दाताले वा विदेशी एनजिओहरूले पैसा दिएर दुईचार ठाउँमा जलवायु परिवर्तन र अनुकूलन ह्यानत्यान भनेर नबुझिने क्लिस्ट भाषामा दुईचार वटा सेमिनार वा तालिम गर्दैमा यसबारे सचेतना बढ्दैन। न त बजेट पचाउन एकै ठाउँमा पचास चोटी वृक्षारोपणले नै केही नतिजा दिन्छन्।

यदि त्यसले नतिजा दिने भए चुरे/शिवालिक क्षेत्र अहिले हराभरा भइसक्थ्यो। पंक्तिकारले थाह पाएदेखि हालसम्मका विभिन्न कार्यक्रमले गरेको खर्चका आधारमा अनुमानित आकलन गर्दा २०४७ सालयता चुरेका नाममा मात्र २५ देखि ३० अर्ब रुपैयाँ खर्च भइसकेछ। यो अनुपात अझ बढी हुनसक्छ।

अध्ययनकै आधारमा कुरा गरौँ।नेपालको पानीको मुख्य आधार मानिने परम्परागत मनसुन चक्रमा ठूलो समस्या आएको तत्कालीन केन्द्रिय तथ्याङ्क विभाग/हालको राष्ट्रिय तथ्याङ्क विभागले जल तथा मौसम विज्ञान विभाग र अन्य स्रोतबाट तथ्याङ्क लिइ तयार पारेको नेपाल वातावरणीय तथ्याङ्क- २०१९ र २०२४ ले देखाउँछ ।

 विगत २५ वर्षको वर्षातको विवरण हेर्दा छोटो समयमै धेरै पानी पर्ने, मनसुन सकिएपछि पनि लामो समयसम्म वर्षा भइरहने, खडेरी लाग्ने र हिउँदमा सामान्यभन्दा बढी गर्मी हुने जस्ता घटनाहरू बढेका देखिन्छ। जलवायु परिवर्तन सर्वेअनुसार विगत २५ वर्षमा देशभरका अधिकांश घरपरिवारहरूले मौसमी वर्षामा परिवर्तन अनुभव गरेको देखिन्छ ।

सर्वेमा सहभागीमध्ये  ८९.५ प्रतिशत मानिसहरूले चैत-वैशाखको वसन्त ऋतुमा पानी पर्ने तरिका फेरिएको बताए। यस्तै, जेठ-असारको गर्मीमा ९०.१ प्रतिशत, साउन-भदौको वर्षामा ८९.८ प्रतिशत, मंसिर-पुसको हिउँदमा ८५.६ प्रतिशत र माघ-फागुनको शिशिरमा ८७.४ प्रतिशत ले पनि यस्तै परिवर्तन भएको उल्लेख गरेका छन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर भूमिगत जलस्रोतहरूमा परेको छ। देशभरि  ह्यान्डपम्प, इनार र ट्युबवेलबाट पानी उपभोग गर्ने करिब १४ प्रतिशत घरपरिवारले पानीको सतह सुकेको बताएका छन्।

तराई क्षेत्रका २३.८ प्रतिशत घरपरिवारले  ह्यान्डपम्प, इनार र ट्युबवेलजस्ता जमिनमुनिको पानीको  स्रोतहरू पूर्ण रूपमा सुकेको बताएका छन्, जसमा सुदूरपश्चिम-तराईका ४९.५ प्रतिशत र मधेश-तराईका २८.८ प्रतिशतले यसरी पानीको सतह सुकेको बताए।  मूलत १२५-३५० मिटर उचाइका घरपरिवारहरूले ह्यान्डपम्पमा अन्य क्षेत्रहरू भन्दा बढी समस्या भोगिरहेका छन्।

यसैगरि पहाडी र हिमाली क्षेत्रका समुदायहरूका लागि जीवनरेखा मानिने पधेरो, कुवा, मूल, रढुङ्गेधारा जस्ता परम्परागत मूल-आधारित स्रोतहरू पनि गम्भीर रूपमा सुकेका छन्। उल्लेखनीय रूपमा हिमाली भेगका ८१.५ प्रतिशत र पहाडी  भेगका ७९.६ प्रतिशत क्षेत्रहरूमा पानीको उपलब्धतामा उल्लेखनीय कमी रहेको सर्वेले देखाएको छ।

खोला र नदीहरू जस्ता सतहका पानीका स्रोतहरूमा पनि चिन्ताजनक समस्या देखिएको छ। उल्लेखनीय रूपमा ४३.१ प्रतिशत मानिसहरूले यी पानीका स्रोतमा परिवर्तन आएको,  ७८.३ प्रतिशतले तिनको बहाव घटेको जानकारी दिएका छन्। विगत २५ वर्षमा खोला र नदीहरूमा पानीको बहाव ७८.३ प्रतिशत ले घटेको छ भने ४३ प्रतिशत  त पूरै सुकेका छन् ।विशेष गरी तराई क्षेत्रमा ह्यान्डपम्प, इनार र ट्युबवेलजस्ता जमिनमुनिका पानीका स्रोतमा पनि २३.७ प्रतिशतले कमी  आएको र १४ प्रतिशत  सुकेको पाइएको छ । 

अपर्याप्त वर्षा र बढ्दो खडेरीकै कारण पानीका मूल स्रोतहरू सुकेका हुन्। सर्वेक्षणमा सहभागीमध्ये  ४७.७ प्रतिशत घरपरिवारहरूले पर्याप्त वर्षा नहुनुलाई  जलस्रोतमा कमी आउनुको प्राथमिक कारणको रूपमा पहिचान गरेका छन् भने २०.३ प्रतिशले को लागि बढ्दो खडेरीले सुकेको बताएका  छन्।

पछिल्लो दशकमा मौसमसम्बन्धी समस्याले गर्दा नेपालमा खाद्य संकट गहिरिदैछ।सर्वेक्षणमा सहभागीमध्ये २५.२ प्रतिशतले रोग र कीरा, २३.८ प्रतिशतले डुबान, १८.७ प्रतिशतले बाढी र १८.१ प्रतिशतले खडेरीका खाद्य अभाव बढेको बताएका  छन्।। पछिल्लो २५ वर्षमा ५० प्रतिशत घरपरिवारहरूले आफ्ना बालीमा नयाँ रोग लागेको बताएका छन्।  सुदूरपश्चिमी पहाडमा ८६ प्रतिशतले नयाँ बाली रोग देखिएको र ८७.९ प्रतिशतले बालीमा नयाँ कीरा लागेको बताएका छन्। पशुधनमा पनि नयाँ रोगहरू देखा परेका छन्। 

नेपालमा जलवायु परिवर्तनका कारण मानिसहरूको स्वास्थ्यमा पनि गम्भीर असर पर्दै गएको  छ। यसले गर्दा रोगहरू बढिरहेका छन्।  नेपालभरका करिब ३६.२ प्रतिशतमा  परिवारमा गम्भीर रोगको समस्या बढेको अध्ययनले देखाउँछ ।

यी केही सामान्य सतहमा देखिएका र भोगिएका समस्याहरू हुन्। विगत २५ वर्षमा नेपालको जैविक विविधतामा निकै परिवर्तन आएका छन् ।  रूखका प्रजातिहरूमा परिवर्तन आएक छ। चराचुरुङ्गी र जंगली जनावरको संख्या घटेको छ। तराईमा बासस्थान हुने बाघ र गोमन साँजजस्ता प्रजाति पहाड उक्लेका छन्।  मिचाह प्रजातिका विदेशी झाडीहरू बढेका छन्। मिचाह प्रजातिहरू विशेष गरी कृषि भूमिमा फैँलिँदै जाँदा रैथाने बाली र उत्पादनचक्रमा असर पारेको छ।

त्यसैले पानी र मौसमजन्य परिवर्तन केबल तारे होटलहरूमा टाइ बाँधेर गरिने फेन्टासी गफमात्र होइन यो आमनेपाली आमकिसानको खाद्य र जीवनसँग जोडिएको मुद्दाका रुपमा उठान गर्नु जरुरी भइसकेको छ।