काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भ्रष्टाचार सम्बन्धी अध्ययन गर्न बनेको समितिले अनुसन्धान, छलफल र अन्तरक्रियालाई अगाडि बढाएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य चिरन सीको नेतृत्वमा भ्रष्टचार अध्ययन समिति बनेको छ । गएको केन्द्रीय समिति बैठकले बनाएको समितिले भ्रष्टाचार हुने क्षेत्रबारे अध्ययन,छलफल तथा अन्तरक्रिया सुरु गरेको हो ।
बृहत अध्ययन, छलफल र अन्तरक्रियापछि एउटा निचोडमा पुग्ने समिति प्रमुख सीले जानकारी दिए ।
उनले भने,“हामीले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अध्ययन,अनुसन्धान र छलफल गर्छौँ र एउटा प्रतिवेदन तयार गर्छौँ । एउटा निचोड निस्केपछि संघर्षका कार्यक्रम अगाडि बढाउँछौँ ।”
यसै अभियान अन्तर्गत आज समितिले अर्थक्षेत्रका विज्ञसँग अन्तरक्रिया गरेको छ ।

‘अर्थतन्त्र र भ्रष्टाचार’ विषयक शिर्षकमा पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्री, पूर्व कार्यवाहक महालेखा परीक्षक शुकदेव भट्टराई खत्री, ट्रान्सफरेन्सी इन्टरनेसनलका अध्यक्ष मदन कृष्ण शर्मा, प्रा.डा. चन्द्रमणी अधिकारी, डा. डिल्लीराम खनाल,डा. गुमानसिंह खत्री, लगायतका विज्ञहरूसँग समितिले छलफल गरेको हो ।
समिति प्रमुख सीले भ्रष्टाचार सम्बन्धी अध्ययन र छलफललाई निरन्तरता दिने बताए । उनले भने,“भ्रष्टाचार नेपालमा गम्भीर बन्दै गएको छ । यो विषयमा विगतमा छलफल अन्तरक्रिया पनि हुने गरेको छ तर अब हामी एउटा सही मुद्दा बनाएर जान चाहन्छौँ । यसका लागि तपाईंहरूको सुझाव आवश्यक छ ।”
प्रतिक्रिया दिनुहोस्