काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो नियन्त्रणमा रहेका विभिन्न चारपांग्रे र दुईपांग्रे सवारीसाधन लिलामी बिक्री गर्ने भएको छ।
सहकारी ऐन, २०७४ को दफा १०४ र १०५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम मूल्याङ्कन गरिएको सवारीसाधन लिलामीमार्फत बिक्री गर्न २१ दिने सूचना जारी गरिएको हो। इच्छुक व्यक्ति वा संस्थाले शिलबन्दी निवेदन पेश गर्नुपर्ने समितिले जनाएको छ।
सूचनामा ३ वटा चारपांग्रे (मारुति सुजुकी, टाटा टियागो, ह्युन्डाई आई–१०० र १८ वटा दुईपांग्रे (एप्रिला स्कूटर, यामाहा, होंडा, हिरो, केटीएम ड्युक, रोयल एनफिल्ड, बजाज लगायत) सवारीसाधन बिक्री सूचीमा राखिएको छ। यी सवारीसाधनको कुल न्यूनतम मूल्य ३८ लाख ८९ हजार रुपैयाँ तोकिएको छ।
बोलपत्रका शर्तअनुसार, इच्छुकले समितिबाट २ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम लिनुपर्नेछ। बोलपत्र पेश गर्नुअघि सवारीसाधनको अवस्था हेर्न सकिने व्यवस्था छ। बोलपत्रदाताले कवोल गरेको रकमको १० प्रतिशत धरौटी तोकिएको बैंक खातामा जम्मा गरी भौचर संलग्न गर्नुपर्नेछ।
लिलामीमा एकमुष्ट सम्पूर्ण सवारीसाधन खरिद गर्ने प्रस्तावलाई पहिलो प्राथमिकता दिइने समितिले जनाएको छ। लिलामीबाट खरिद गरिएका सवारीसाधनको ढुवानी तथा सम्पूर्ण खर्च खरिदकर्ताले नै व्यहोर्नुपर्नेछ।
समितिले सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने बोलपत्र स्वीकृत गर्ने जनाएको छ। विस्तृत जानकारीका लागि समितिको बुद्धनगरस्थित कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्