नागरिकले अनुभूति हुनेगरी सेवा प्रवाह गर्न कृषिमन्त्री अधिकारीको निर्देशन


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएका लक्ष्यहरू निर्धारित समयमा पूरा गर्न मन्त्रालयअन्तर्गतका निकाय र नेतृत्वबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि तथा मन्त्रालयसँग सम्बन्धित विषयहरूमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन्।

उनले कतिपय विषयहरू अन्य मन्त्रालय तथा निकायसँग सहकार्य गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै तिनलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिए।

मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखी प्रदेश र स्थानीय तहसँग आवश्यक सहजीकरणमार्फत कृषि र मल आपूर्ति सम्बन्धी समस्याको समाधान गर्न सकिने बताए। उनले गत आर्थिक वर्षमा मन्त्रालयबाट सम्पन्न भएका कार्यहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति हुनेगरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डन, मन्त्रालयका सचिवहरू डा.गोविन्द शर्मा र डा.दीपक कुमार खराल, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.कृष्ण तिमिल्सिना, मन्त्रालयका सहसचिवहरू, विभागीय तथा योजना प्रमुखहरूले हालका उपलब्धि, समस्या र आवश्यकता प्रस्तुत गरेका थिए।