काठमाडाैँ । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले रूपान्तरणपछि पहिलो साधारणसभा सम्पन्न गरेको छ। साधारण सभा साउन ३० गते शुक्रबार डीडीआई बैंक्वेट, बुद्धनगरमा आयोजना गरिएको थियो।
सभामा कम्पनीले भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका वडा नम्बर ६ मा बहने फेदीखोलामा निर्माण भइरहेको ४.३ मेगावाट क्षमताको आयोजना आगामी वि.सं. २०८२ पौष अन्तिमसम्म सम्पन्न गर्ने जानकारी दिएको छ।
कम्पनीले आयोजना निर्माणको कुल लागत रु. ९४ करोड अनुमान गरेको थियो। तर, २०८१ साल श्रावण १५ गते आएको बाढीका कारण लागत रु. ४ करोडले बढेर ९८ करोड पुगेको छ। यसमा ४९ प्रतिशत अर्थात रु. ४८ करोड स्वपूँजी शेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात रु. ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणको रूपमा जुटाइएको कम्पनीले जानकारी दिएको छ।
साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडबाट ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने निर्णय गरेको छ। यस कार्यान्वयनका लागि संचालक समितिलाई अख्तियारी समेत दिइएको छ।
त्यस्तै, साधारणसभाले वन्डर्स ईनर्जी प्रा. लि. (खिम्ती घ्वाङ खोला ज.वि.आ. ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने र १ करोड रकम निक्षेप गर्ने, तथा इस्र्टन ईनर्जी प्रा. लि. (ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने र २ करोड ५० लाख रकम निक्षेप गर्ने निर्णय पारित गरेको छ। कम्पनीले भित्र आगामी योजनाअनुसार वि.सं. २०९० साल भित्र कम्तीमा १०० मेगावाट क्षमताको आयोजना अघि बढाउने लक्ष्य राखेको छ।
साथै, कम्पनीको नियमावलीअनुसार पाँच जना सञ्चालक रहने भएका छन्। आगामी कार्यकालका लागि संस्थापक समूह (क) बाट चन्द्र प्रसाद वास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्